काठमाडौं – च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवन खाली गर्न सरकारले सूचना जारी गरेपछि नेकपा एमालेले नयाँ कार्यालय खोज्न थालेको छ ।

भोगाधिकार पाएको, तर लिजमा परिणत नभएको जग्गा खाली गर्न भूमि व्यवस्था मन्त्रालयले सूचना जारी गरेको छ । उक्त सूचना बमोजिम च्यासलको कार्यालय पनि खाली गर्नुपर्ने देखिएको छ ।

‘आधिकारिक पत्र आएको जानकारी छैन, तर सरकारको सूचना अनुसार भवन खाली गर्नुपर्ने देखियो,’ एमाले स्रोतले भन्यो, ‘अब हामीसँग अर्को कार्यालय खोज्नुको विकल्प रहेन ।’ ती नेताका अनुसार एमालेले नयाँ कार्यालय खोज्न थालिसकेको छ ।
प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य भने आफूहरूले यो जग्गा कानुनअनुसार नै प्रयोग गरिरहेको बताउँछन् ।



















