अत्तरिया – कैलालीको पर्यटकीय क्षेत्र बुढीतोलाका सम्भावना उजागर गर्न बुढीतोला पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ । अत्तरिया देखि करिब २५ किलोमिटर दुरीमा रहेको बुढीतोलामा भएका पर्यटकीय सम्भावनालाई उजागर गर्दै यही वैशाख १७ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो । बुढीतोला क्षेत्र पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समितिले आयोजना गर्न लागेको महोत्सवको बारेमा बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै आयोजकले बुढीतोलाको पर्यटकीय सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।
मूल आयोजक समितिका संयोजक हरि दत्त भट्टराईले बुढीतोलाको बुढीतोलाको ऐतिहासिक महत्त्व उजागर गर्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा लगानी भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।

‘आर्थिक नाफा रहित विशुद्ध रूपमा बुढीतोलालाई चिनाउनका लागि महोत्सवको आयोजना गरिएको छ’ उनले भने ‘बुढीतोलका पर्यटकीय क्षेत्र बन्दै छ भन्ने सन्देश दिन पर्यटन महोत्सव आयोजना गर्दै छ । यसको उद्देश्य बुढीतोलामा बढी भन्दा बढी पर्यटन भित्र्याउने रहेको छ ।’
उनले वातावरण अनुकूलित क्षेत्र बुढीतोलालाई भारतको नैतिताल जस्तो ठाउँको रूपमा विकास गर्न सकिने आधार रहेको बताउँदै देशको बलियो आधार पर्यटन भएकाले यसको लागि पर्यटन महोत्सवले सहयोग पुग्ने बताए ।

उनले महोत्सवमा ६० वटा स्टल रहने र राष्ट्रिय तथा स्थानीय कलाकारको पनि प्रस्तुति रहने बताए । उनले महोत्सव गोदावरी नगरपालिका – ४ बुढीतोलामा रहेको बाख्रा विकास फर्म भन्दा माथिल्लो पट्टिको जमिनमा हुने बताए । उनले मेला व्यवस्थापनको जिम्मेवारी रुकमणि टेन्ट हाउसको रहने बताए । उनले टेन्ट हाउसले व्यवस्थापन गरे बापत टिकटको पैसा उसैले लग्ने बताए । महोत्सवमा सामान्य टिकट दर १ सय र विद्यार्थीलाई ५० तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
समितिका सल्लाहकार सदस्य अशोक मल्लले बुढीतोला तथा आसपासका क्षेत्रमा पर्याप्त पर्यटन सम्भावना भएकाले महोत्सवले त्यसको प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
‘बुढीतोलामा पर्यटनको अत्यधिक सम्भावना रहेको महसुस गरेर स्थानीयको पहलमा महोत्सवको सुरुवात गर्न खोजेका छौ’ उनले भने ‘अहिले बुढीतोलमा पर्यटन प्रवद्र्धनका लागि पुतली बगैचा, स्ट्याचु, रंगरोगनका कार्यक्रममा, भित्ते लेखन, सरसफाइ गरेर पर्यटनलाई आकर्षक गर्ने काम गर्दै आएका छौ । थप यसलाई चिनाउन महोत्सव आयोजना गरेका हौ ।’ उनले महोत्सवमा भारतबाट पनि अवलोकन गर्न आउने अपेक्षा लिइएको बताए ।
गोदावरी नगरपालिका–४ का वडा सदस्य शेरबहादुर घर्तीले बुढीतोला क्षेत्र पर्यटनसँगै धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए । उनले पर्यटन महोत्सवले यसको पहिचान बढाउने बताए । उनका अनुसार सुदूरपश्चिमका धार्मिक शक्ति पीठहरूको कुनै न कुनै अंश बुढीतोेलामा रहेको हुँदा धार्मिक महत्वबारे जानकारी फैलाउन महोत्सव उपयोगी हुने बताए ।
‘बुढीतोला धार्मिक दृष्टिकोणले पवित्र जमिन हो’ उनले भने ‘सुदूरपश्चिमको पहाडमा रहेका जति पनि शक्तिपिठ छन् । ती शक्तिपिठको सानो सानो अंश बुढीतोलामा छ । मालिकाको अंश त्यहाँ छ सिद्ध भगवतीको अंश त्यहाँ छ, मष्टको सानो थान त्यहाँ छ, बाइस खम्बा, समैजी छ । त्यसकारणले धार्मिक दृष्टिले पनि एकदम पवित्र ठाउँ छ ।’ उनले गोदावरीको उद्गम स्थल पनि बुढितोलामा भएको बताउँदै उद्गम स्थललाई सहस्त्रधारा नामकरण गरिएको बताए । यद्यपि हाल उक्त धारा पहिरोको कारण पुरिएको उनले बताए । उनले बुढीतोलमा शिव गुफा रहेको बताए ।
त्यस्तै, वडा अध्यक्ष हेमप्रकाश मल्लले मेला सफल पार्न सबै गोदावरीवासीलाई सहभागी हुन अपिल गरेका छन् । उनले भारतको उत्तर प्रदेशबाट समेत पर्यटक भित्र्याउन सके क्षेत्रीय पर्यटनमा थप टेवा पुग्ने बताए ।
















