कञ्चनपुर– भोटेकोशीमा आएको बाढी पश्चात बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही रु. दुई लाख राहत उपलब्ध गराईने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी पश्चात बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरुप जनही दुई लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका २६ परिवारलाई राहत स्वरुप जनही २ लाखका दरले रकम उपलब्ध गराउने समितिको निर्णय भएको जानकारी दिए । उनले सबै परिवारका लागि आवश्यक पर्ने ५२ लाख रुपैया प्राधिकरणसँग माग गरिएको बताए ।
‘बेपत्ता भएका २६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ’ उनले भने, ‘पछि शोधभर्ना हुनेगरी सम्बन्धित पालिकालाई राहत रकम उपलब्ध गराउन भनिसकेका छौँ ।’

प्रजिअ कोइरालाका अनुसार बाढीमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ, बेदकोट र बेलौरी नगरपालिकाका तीन÷तीन, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाकाका पाँच र लालझाडी गाउँपालिकाका एक जना बेपत्ता छन् ।

















