अछाम – अछामको तुर्माखाँद गाउँपालिका–३ बल्देमा कर्णाली नदी तर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका दुई जनामध्ये एक बालकको शव फेला परेको छ ।

गत वैशाख ३ गतेदेखि नदीमा हराइरहेका ३५ वर्षीय पहल सिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढामध्ये बालकको शव फेला परेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी गर्ने क्रममा शनिवार घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीमा तैरिरहेको अवस्थामा नरी बुढाको शव फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थल मुचुल्कालगायत कानुनी प्रक्रियाहरू पूरा गरेको छ । बेपत्ता रहेका बुवा पहल सिंह बुढाको खोजी कार्य भने निरन्तर जारी छ । वैशाख ३ गते नदी तर्ने क्रममा अचानक डुङ्गा पल्टिँदा बुवाछोरा दुवै बेपत्ता भएका थिए ।

















