खाेज्नुहाेस

अत्तरियामा अपाङ्गता भएका व्यक्तिलाई भाडा छुट नदिने हाइसलाई कारबाही गरियो

Image
अत्तरिया – कैलालीको अत्तरियामा अपाङ्गता भएर परिचय पत्र देखाउँदा पनि भाडा छुट नदिने एक हाइसलाई कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ । कञ्चनपुरबाट डोटी गइरहेका कर्ण बहादुर बोगटीलाई अपाङ्गता परिचय पत्र देखाउँदा पनि उनले पाउनुपर्ने ५० प्रतिशत भाडा छुट नदिएको बागमती प्रदेश ०१ ००६ ख ८९१९ नम्बरको हाइसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको हो ।
attariya hospital
आइतबार अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूका लागि सहायता कक्ष स्थापना गर्ने क्रममा कञ्चनपुरबाट आएका बोगटीले उक्त हाइसमा छुट नपाएको फेला परेको थियो ।
गोदावरी नगर स्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकले हाइसमा यात्रा गरिरहेका बोगटीलाई देखेपछि छुट पाए नपाएको बारेमा सोध्दा पुरै भाडा तिरेर आएको बताएपछि कारबाहीका लागि प्रहरीलाई खबर गरेको बताए । उनले भाडा छुट मागेर परिचय पत्र देखाउँदा पनि छुट नदिएको पाएपछि प्रहरी समक्ष कारबाहीका लागि अनुरोध गरेको बताए ।
आइतबार बसपार्कमा सहायता कक्षको उद्घाटन गर्न पुगेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया प्रहरी उपरीक्षक नवराज कार्कीले उक्त घटनाको जानकारी पाएपछि हाइसलाई रोकेर कारबाहीका लागि पठाएका थिए । उनले ३३ वर्ष अघि बनेको कानुन अहिले सम्म पनि थाहा थिएन भनेर उम्कन नपाउने भएकाले कारबाहीको लागि सिफारिस गरेको बताए । उनले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले पाउनुपर्ने छुट अनिवार्य रूपमा लागु हुनुपर्ने बताए ।
navjiwan hospital
‘यो धर्म गरेको होइन, सेवा गरेको पनि होइन, माया गरेर मात्रै पनि होइन’ उनले भने ‘यो कानुनले दिएको अधिकारको कुरा हो । कानुनमा भएको व्यवस्था सम्बन्धित व्यक्तिको अधिकारको कुरा बन्छ । कानुन कार्यान्वयनका लागि नै हामी खटिएका छौ ।’ उनले अपाङ्गता भएका व्यक्तिले भाडामा छुट नपाएमा १०० वा १०३ नम्बरमा फोन गर्न आग्रह गरे ।
भाडा छुटका विषयमा आफू यात्रा गरेको गाडीलाई कारबाहीको दायरामा ल्याइएको भन्दै बोगटी खुसी व्यक्त गरेका थिए । तर, उनले यसरी छुट माग्दा गाडीमा टिकट नपाइने हो कि भन्ने चिन्ता पनि व्यक्त गरे ।
‘आधा भाडा दिएर गाडीमा चढ्न पाउँछै कि पाउँदैनौ भन्ने चिन्ता छ’ उनले भने ‘फुल भाडा दिएरत गाडीमा चढ्न पाएका छौ । भाडा छुट माग्दा काईनिर बाटोमा गाडीमा चढ्न पाउने हु या होइन भन्ने चिन्ता आफूलाई लागेको छ ।’
उनले कञ्चनपुरबाट डोटी जानका लागि हाइसमा ७५० रुपैयाँ भाडा तिरेको बताए । आधा छुट माग्दा ५० रुपैयाँ मात्रै कम गरेर ७ सय तिर्न लगाएको उनले बताए ।