अत्तरिया – फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चोरी मुद्दामा १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएका गोदावरी नगरपालिका–१ का ३५ वर्षीय विनित बढु रहेका छन् । यस्तै, चोरी मुद्दामै १ वर्ष ६ महिना कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २८ वर्षीय अर्जुन विष्ट पनि पक्राउ परेका छन् ।

यसैगरी, अछामबाट वन्यजन्तु अवैध शिकार मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत अछामको २०८२ चैत १६ गतेको फैसलाले १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बान्नीगढी जयगढ गाउँपालिका–६ का ३६ वर्षीय जयन्द्र शाहलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
शाहलाई प्रहरी चौकी जयगढबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

















