बैतडी – दसैँको सुरुवातसँगै सुदूरपश्चिमका मन्दिरहरूमा पूजापाठ, भजनकीर्तन र दर्शनका लागि भक्तजनको चहलपहल बढेको छ । सुदूरपश्चिममा घटस्थापनादेखि नै नवरात्रि मनाउने विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्परा छ । नौ दिनसम्म दुर्गा भवानी र इष्टकुल देवताको पूजा आराधना गर्दै भक्तजनले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा घटस्थापनादेखि नै नवरात्राको विशेष रौनक देखिन्छ । अन्य कतिपय स्थानमा फूलपातीदेखि दसैँको चहलपहल बढ्ने भए पनि यहाँ घटस्थापनादेखि नै देवीदेवताको पूजाआजा र धार्मिक अनुष्ठान सुरु हुन्छन् । नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको आराधना गर्नुका साथै इष्टकुल देवताको पूजा गर्ने परम्परासमेत रहेको संस्कृतिका जानकार बैतडीको पाटनका भानदेव भट्टले बताए ।

धार्मिक मान्यताअनुसार वर्षमा दुई पटक नवरात्रि मनाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि शरदीय नवरात्रि र चैत शुक्ल प्रतिपदादेखि वासन्तीय नवरात्रि सुरु हुन्छन् । दुवै नवरात्रि देवीदेवताको आराधना र साधनाका दृष्टिले महत्वपूर्ण मानिने ज्योतिष पण्डित यज्ञराज पन्तले बताए । शरदीय नवरात्रि दसैँसँग जोडिएकाले चहलपहल बढी भए पनि वासन्तीय नवरात्रिको धार्मिक तथा सांस्कृतिक महत्त्व अझ व्यापक रहेको उनको भनाइ छ ।
सुदूरपश्चिममा इष्टकुल देवताको पूजाआजा पनि दसैँको महत्वपूर्ण पक्ष हो । कतिपय स्थानमा धामी झाँक्रीसहित परम्परागत धार्मिक विधि अपनाइन्छ भने कतै भजनकीर्तन र सामूहिक पूजाआजा गरिन्छ ।














