धनगढी – कैलालीको कैलारी गाउँपालिकाका जलउपभोक्ता कृषकले गुर्गी सिँचाइ आयोजनालाई यसै आर्थिक वर्षमा बहुवर्षीय ठेक्कामा लग्न प्रदेश सरकारसँग माग गरेका छन् । गुर्गी सिँचाइ आयोजनाका लागि आर्थिक मामिला मन्त्रालयले बहुवर्षीय ठेक्काकोे स्रोत सहमति नदिएपछि रुष्ट भएका किसानले यसै आर्थिक वर्षमा बहुवर्षीय ठेक्कामा लग्न माग गरेका हुन । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने जलउपभोक्ताले आज धनगढीमा पत्रकार सम्मेलन गरेर घोषणा गरेका छन् ।

आफूहरुको माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने गुर्गी सिँचाइ आयोजना संघर्ष समितिका संयोजक एवम् बसन्ताका भलमन्सा बाबुराम चौधरीले बताए । उनले सात गाउँका किसानलाई सिँचाइ सुविधा पुग्ने आयोजना निर्माणका लागि प्रदेश सरकार गम्भीर नरहेको आरोप लगाए ।

विगतमा आन्दोलन गरेपछि डिपिआर, लागत स्टिमेट र वातावरणीय प्रभाव अध्ययनको तयारी पूरा भइ प्रदेश सरकारले बजेटसमेत विनियोजन गरे पनि बहुवर्षीय ठेक्का लगाउनका लागि मन्त्रालयले स्रोत सहमति नदिएको उनले बताए । बहुवर्षीय ठेक्कामा नलगिए आफूहरुले चरणबवद्ध आन्दोलन गर्ने संयोजक चौधरीको भनाइ छ । उनले सुरुमा ज्ञापनपत्र बुझाउने, त्यसपछि धर्ना लगायतका आन्दोलनका कार्यक्रम थाल्ने जानकारी दिए ।
कैलारी गाउँपालिका–२ मा रहेको गुर्गी सिँचाइ आयोजना निर्माणका लागि सरकारले सात वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि विभिन्न अध्ययनको नाममा अल्झाउने काम गरेको गुर्गी बाँध जलउपभोक्ता समितिका अध्यक्ष भीष्म चौधरीको भनाइ छ । उनले अध्ययनको सबै काम यसवर्ष पूरा भएकाले आयोजना रोक्नु पर्ने कुनै कारण नरहेको जिकिर गरे ।

















