अत्तरिया – कैलालीमा एक महिनामा मात्रै लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह देखिएको छ । प्रहरीले बुधवार सार्वजनिक गरेको एक महिना (चैत) को प्रगति विवरणमा यस्तो अवस्था देखिएको हो । विवरणमा एक महिनाको अवधिमा लागू औषध सहित ५४ जना पक्राउ परेका छन् । जसमा १ महिला र ५३ पुरुष रहेका छन् । प्रहरी नायक उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरूलाई ३७ वटा मुद्दामा पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूको साथबाट चरेस २५ ग्राम ४८ मिलिग्राम, खैरो हिरोइन ५२ ग्राम ६३० मिलिग्राम, गाँजा १ ग्राम २८० मिलिग्राम र ट्याब्लेट ४४ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रगति विवरणमा अपराधका २०३ मुद्दा, जघन्य तथा गम्भीर अपराधका ७३ मुद्दा दर्ता भएका छन् । यस्तै चालु मुद्दाका १९२ जना पक्राउ परेका छन् भने ५८ जना पक्राउ पर्न बाँकी रहेका छन् । यस्तै प्रहरीले प्रगति विवरणमा सार्वजनिक चासो रहेका पेण्डिङ मुद्दा ९४ रहेकोमा ४ वटा फछ्र्यौट भएको उल्लेख छ । यस्तै फैसला कार्यान्वयनका क्रममा ६९ जना पक्राउ गरेर १५ वर्ष कैद र ७ लाख ६७ हजार ५१५ जरिवाना असुल गरिएको उल्लेख छ ।

२८ जनाले गुमाए ज्यान
जिल्लामा आत्महत्याको अवस्था पनि भयावह छ । तथ्याङ्क अनुसार एक महिनाको अवधिमा २८ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन् । जसमा २५ जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरेर ज्यान गुमाएको जनाएको छ । ज्यान गुमाउनेमा पुरुषको सङ्ख्या बढी रहेको छ । सो अवधिमा १४ जना पुरुष १० महिला १ बालक र ३ बालिकाले आत्महत्या गरेर ज्यान गुमाएको प्रहरी नायक उपरीक्षक तिमिल्सिनाले बताए । ज्यान गुमाउनेमा १० देखि २० वर्ष उमेर समूहका ६ जना, २१ देखि ३० वर्ष उमेर समूहका ११ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ६, ४१ देखि ५० वर्ष उमेर समूहका १ र ५० भन्दा माथिका ४ जना रहेका छन् ।

७५ सवारी दुर्घटना
जिल्लामा एक महिनाको अवधिमा ७५ वटा सवारी दुर्घटना भएका छन् । जसमा प्रहरीले ६६ वटा दुर्घटना चालकको कारणले भएको विश्लेषण गरेको छ । यस्तै सवारी साधनको कारण १ वटा, यात्रुको कारण ६ वटा र चौपायाको कारण २ वटा सवारी दुर्घटना भएका प्रहरी नायक उपरीक्षक तिमिल्सिनाद्धारा जारी प्रगति विवरणमा उल्लेख छ । उक्त दुर्घटनामा ९५ सवारी साधन संलग्न रहेकोमा ११ जनाले ज्यान गुमाएका छन् भने १०४ जना घाइते भएका छन् । दुर्घटनामा ११५ जनाको प्रहरीले उद्धार गरेको जनाएको छ ।
एक महिनाको अवधिमा १ हजार ३३३ सवारी कारवाहीमा परेकोमा ११ लाख २ हजार ५ सय राजश्व सङ्कलन गरेको प्रगति विवरणमा उल्लेख छ । प्रहरीले एक महिनाको अवधिमा राजश्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा ५२ लाख ४३ हजार ३२० रुपैयाँ बराबरको सामान र २ जना मानिस पक्राउ गरेको जनाएको छ ।
२३९ जनचेतनाका कार्यक्रम
यद्यपि प्रहरीले यी घटना रोक्नका लागि जनचेतनाको कार्यक्रममा जोड दिएको जनाएको छ । प्रहरीको तथ्याङ्कमा एक महिनाको अवधिमा २३९ वटा जनचेतनाका कार्यक्रम आयोजना गरेको जनाएको छ । जसमा लागू औषध दुव्र्यसनीमा रोकथाम तथा नियन्त्रणका ५४ वटा, ट्राफिक नियमका २७ वटा, आत्महत्या रोकथाम तथा न्यूनीकरणका २७, लैङ्गिक हिंसा न्यूनीकरणका ७, बालविवाह न्यूनीकरणका २२, साइबर अपराध सम्बन्धीका २७ र अन्य विविध ७५ गरी २३९ वटा जनचेतनाका कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले बताएका छन् ।
प्रहरीले सो अवधिमा ४ हजार २०९ प्रहरी गतिविधि गरिएको जनाएको छ । जसमा पिकेट १ हजार ५९०, चेकिङ ९६०, ग्रामीण गस्ती ५१०, एसआरपी १ हजार २३० रहेका छन् । प्रहरीले एक महिनाको अवधिमा जिल्लामा २१ वटा आन्दोलन विरोधका कार्यक्रम भएको जनाएको छ ।

















