धनगढी – कैलालीमा हाइसको ठक्करबाट दुई जनाको मृत्युपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्व गरिएको छ । मृतकका आफन्त र स्थानीय बासिन्दाले लम्कीमा राजमार्ग अवरुद्व गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बुधबार बिहानैदेखि राजमार्ग अवरुद्व रहेको जानकारी दिए । क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्व गरिएको हो । ‘राजमार्ग खुलाउने प्रयास जारी छ, मृतकका आफन्तसँग छलफल भइरहेको छ,’ डीएसपी तिमिल्सिनाले भने ।

मंगलबार साँझ लम्कीचुवा नगरपालिका– ७ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा सुपप्र ०१–००१ ज १४२१ नम्बरको हाइसले सुपप्र ०१–१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।
लम्किचुहा नगरपालिका– ८ बस्ने ३३ वर्षीय गगन रानामगर र सोही ठाउँका २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको हो । दुवै जना मोटरसाइकलमा सवार थिए । दुर्घटनापछि प्रहरीले हाइस र चालकलाई पक्राउ गरेको छ ।
















