अत्तरिया – सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसुको चहलपहल बढेको छ । बिसुु पर्व अर्थात् नयाँ वर्षका लागि रोजगारी, अध्ययन लगायत सिलसिलामा घर बाहिर रहेकाहरू फर्किन थालेपछि चहलपहल बढेको छ ।
सुदूरपश्चिममा धूमधामका साथ मनाइने बिसुको लागि विशेष गरेर भारतमा रोजगार गर्नेहरू फर्किने गरेकाले सुदूरपश्चिममा चहलपहल बढ्ने गरेको छ । भारतमा रोजगारी गरेर फर्किनेहरूको चापले अहिले कैलाली कञ्चनपुरबाट पहाडी जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरू पनि यात्रुले खचाखच भरिन थालेका छन् । अत्तरिया बैतडी रुटमा बस चालक पदम पन्तले केहिदिन यता यात्रुको चाप बढेको बताए । उनले नयाँ वर्ष र बिसुको समयमा यात्रुको चाप बढ्ने गरेको बताए ।

भारतबाट नेपाल पुगेर दार्चुला गइरहेका सुवास जोशीले बिसुका लागि घर फर्किदा अन्य समयको तुलनामा भिडभाड नै हुने बताए । भारतको दिल्लीमा रोजगारी गर्दै आएका उनले बिसु मनाउनको लागि घर फर्किएको बताए । बसहरूमा यात्रुको चाप बढेपछि टिकट पाउन भने समस्या नभएको उनले बताए ।

सुदूरपश्चिम नयाँ वर्षलाई बिसुपर्वका नामले धूमधाम साथ मनाउने चलन छ । जसका लागि भारतमा रहेकाहरू फर्किन गरेकाले अहिले भारतसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकि नाकामा पनि भिडभाड बढेको छ । चैतको सुरुआतदेखि नै बिसु मनाउन बाहिर रहेका आफन्तहरू घर फर्कने गरेका छन् ।

बिसुपर्वका लागि घर जाने तथा आउनेहरूको भारतीय सीमा नाका र बसपार्क क्षेत्रमा दिनहुँ भिड लाग्ने गरेको छ । वर्ष भरी भारतमा मजदुरी गरेर परिवारसँग नयाँ वर्ष मनाउन पाउँदा उनीहरूमा उत्साह देखिएको छ ।
अहिले कैलालीको गौरीफन्टा नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली घर फर्किरहेका छन् । गाउँघरमा समेत चहलपहल बढेको छ । गाउँघरमा लिपपोत गर्ने, मिठा मसिना खानाका परिकार बनाउने गरिएको पाइन्छ ।
बिसु पर्व सुदूरपश्चिमेलीले धूमधामसँग मनाउने गरेका छन् । बिसु पर्व आउनु पूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको छ ।

















