अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को विवाद पुनः बल्झिएको छ । गत वर्ष पुस १५ गर्ते डीडीसी अत्तरियाबाट सार्न खोजिएको भन्दै स्थानीयले कार्यालय घेराउ गरेर चर्को विरोध जनाएका थिए । त्यसको भोलिपल्ट गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा बसेको सर्वदलीय भेलाले डीडीसीका लागि जग्गा खोज्न गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडाध्यक्ष गोपाल दत्त भट्टको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलले केही ठाउँमा जग्गा खोजी गरिरहेकै बेला पुनः डीडीसी सार्न खोजिएको भन्दै ५ महिना पछि अर्थात् जेठ ८ गते स्थानीयले डीडीसीको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका थिए ।

उक्त तालाबन्दीको करिब साढे ३ महिना पछि भदौ ३१ गते खुलेको थियो । त्यसपछि केही महिना सुस्ताएको डीडीसीको मुद्दा हाल डीडीसीको कार्यालय धनगढी सारेर डीडीसी कारखानाका सामान सार्ने क्रममा स्थानीयले अवरोध गरेपछि बल्झिएको छ ।
स्थानीले सोमबार (पुस १४ गते) डीडीसीमा दोस्रो पटक तालाबन्दी गरेका छन । उनीहरुले गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा तालाबन्दी गरेका छन । स्थानीयले डीडीसी अत्तरियाबाट धनगढी सार्न थालिएपछि अवरोध गर्दै डीडीसी र वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
लामो समय देखि डीडीसी अत्तरियाबाट सार्न नहुने भन्दै आन्दोलन गरिरहेका स्थानीले एकाएक डीडीडीमा जडान भएका उपकरण सार्न थालिएपछि विरोध जनाउँदै सार्ने काम रोकेका थिए । स्थानीयले डीडीसीका उपकरण सार्नका लागि ल्याइएका क्रेन र ट्रकलाई समेत फिर्ता पठाएका छन् ।
स्थानीय तारा देवी महराले आफूहरूले विगत एक वर्ष देखि डीडीसी अत्तरियाबाट सार्न नहुने माग गर्दै सङ्घर्षका कार्यक्रम गरिरहेको भए पनि अहिले आएर एकाएक आफूहरूलाई जानकारी नै नदिएर डीडीसी सार्न थालिएपछि विरोध गरेको बताइन् । उनले डीडीसीलाई अत्तरियाबाट सार्न नदिने बताउँदै डीडीसीको उत्पादन कक्षमा तालाबन्दी गरिएको बताइन् ।
स्थानीय गीता चौधरीले डीडीसीको अत्तरियामा रहेको कार्यालय रातारात सारिएको बताउँदै उद्योगका सामान पनि सार्न थालेको आफूहरूले जानकारी पाएपछि विरोध गरेको बताइन् । स्थानीयले डीडीसीको विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन र डीडीसीलाई अत्तरिया रोक्न वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेको भन्दै वडा नम्बर १ को कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।
वडाध्यक्ष गोपाल दत्त भट्टले भने डीडीसी सार्न नहुने आफूहरूको पनि चाहना रहेको बताउँदै आफूहरूको पनि आन्दोलनमा ऐक्यबद्धता रहेको बताए । उनले डीडीसीको दोहोरो चरित्रका कारण डीडीसी बिस्तारका लाग जग्गा उपलब्ध गराउन नसकिएको बताए । उनले आफूहरूले आवश्यक जग्गा उपलब्ध गराउनको लागि कागजात पठाएको भए पनि कुनै प्रतिक्रिया नदिएर अहिले सार्ने खोजिएको बताए ।
‘अहिले एक्कासि आएर डीडीसीका जिएमले ४० लाख पैसा र १० बिगाहा जग्गा देऊ नत्र हामी यहाँबाट सार्छौ भनेका रहेछन्’ उनले भने ‘तत्काल दिन सकिँदैन भनेपछि कसैलाई नभेटी गएर अहिले सारिरहेका छन् । अहिले तत्काल किन डीडीसीलाई जग्गा र पैसा चाहियो ।’
कार्यालयका प्रमुख निराञ्जन भट्टराइले शुक्रबार (पुस १२ गते) डीडीसी कार्यालयका सामान सारिएको बताउँदै उद्योगका ठूला सामान सार्ने क्रममा स्थानीयले अवरोध गरेको बताए ।
उनले उद्योगका केही साना सामान सारिसकिएको भएपनि ठुलो सामान ल्याउन क्रेन पठाएको भएपनि स्थानीयले अवरोध गरेको बताए । उनले केन्द्रबाटै निर्देशन आएपछि आफूले सामान सार्न थालेको बताए ।
अख्तियारमा उजुरी
डीडीसी धनगढी सार्ने थालिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालिएको छ । डीडीसी संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले अख्तियारमा उजुरी दिएको बताए । उनले जग्गा दिने कुरा अगाडि बढेको भए पनि स्थानान्तरणमा अहिले आर्थिक मिलेमतो पनि भएको भन्दै अख्तियारमा उजुरी दिएको बताए । अत्तरियामा अहिले डीडीसी रहेकै स्थानमा पनि विस्तार गर्ने अवस्था हुँदा पनि सार्न खोजिएको बताउँदै यसमा आर्थिक चलखेल भएको बताए । आर्थिक चलखेलको अनुसन्धानका लागि अख्तियारमा उजुरी हालिएको उनले बताए ।
‘यसै ठाउँमा विस्तार गर्ने अवस्था हुँदा हुँदै पनि किन ४० किलोमिटर टाढा धनगढीको कनेरीमा सार्न खोजियो’ उनले भने ‘यसमा आर्थिक चलखेल भएको छ ।’

जग्गा दिन प्रतिबद्ध छौ
यसबिच गोदावरी नगरपालिकाले भने यसै क्षेत्रमा जग्गा उपलब्ध गराउने भन्दै बाहिर पालिका बाहिर नजान आग्रह गर्दै आएको छ । नगरपालिकाका मेयर वीरेन्द्र भट्टले पछिल्लो साता मात्रै पनि डीडीसीमा जिएम सञ्जीव झा सँगको छलफलमा डीडीसीलाई गोदावरीमै जग्गा उपलब्ध गराउने प्रतिबद्धता दोह¥याएको बताएका छन् ।
उनले डीडीसीलाई जग्गा दिन स्थान देखाइसकेको बताउँदै उक्त जग्गामा भौतिक संरचना बनाउन भने अहिलेको अवस्थामा नगरपालिकाले नसक्ने बताए । ‘पछिल्लो साता पनि डीडीसीका जिएम सञ्जीव झा सहितको टोली आउँदा पनि मैले हामी जग्गा दिन तयार छौ नसार्नुस् भनेको हो । तर, अहिले भवन दिन सक्ने अवस्था छैन भनेको हो । जेन जी आन्दोलन कारण र पर्याप्त बजेट नहुँदा हामीले भवन बनाउनका लागि संघीय सरकारको योजनालाई पालिकाको बजेट काटेर दिन सक्ने अवस्था छैन भनेको हो । जग्गा हामी दिन्छौ भनेको हो’ उनले भने ‘बहाले हामीलाई उता जग्गा र भवन मिलिरहेको छ भन्ने कुरा गर्नुभएको थियो । वहाँहरूको जाने मनसाय नै पहिले देखि बनाएका हुन । अहिले कसैले राजनीतिक इस्यु बनाए पनि फरक पर्दैन ।’
उनले डीडीसी अत्तरियामै राख्न उपयुक्त हुने बताउँदै डीडीसीलाई दूध सङ्कलन गर्न पनि सहज हुने बताए । ‘संघिय सरकारको आयोजना भएकाले यसमा स्थानीय सरकार तगारो बन्न मिल्दैन यद्यपि लामो समय देखि गोदावरीमा सञ्चालनमा रहेको दुग्ध संस्थान बाहिर नजाओस् केही मान्छे भए पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरूले रोजगार पाएको छ’ उनले भने ‘यो ठाउँ सुदूरपश्चिमको ट्रान्जिट पोइन्टमा रहेको ठाउँ पनि हो । डडेल्धुराको जोगबुडा क्षेत्रबाट पनि दूध डीडीसीमा आउने भएकाले यसै ठाउँमा सहज हुन्छ ।’
उनले यसअघि जेठ महिनामा पनि डीडीसीको जिएम सहितको टोली आउँदा सर्वदलीय छलफल गरेर जग्गा देखाएको र उक्त जग्गा डीडीसीको टोलीले मन पराएको बताए ।
‘बास्कोटामा रहेको जग्गा देखाएका थियौ । ४/५ बिगाहाको उक्त जग्गाको भेल्युसन नै ८०/९० करोड हुन्छ’ उनले भने ‘उतीबेला हामीले जग्गाको सम्झौता गरौँ । बजेटको समय पनि भएकाले हामी भवनको लागि पनि २५/३० लाख छुट्टाइदिन्छौ भनेका थियौ । हामीले डिजाइन स्टमेट पनि मागेका थियौ । त्यस विषयमा डीडीसीबाट कुनै प्रतिक्रिया आएन ।’
बजेट अघि डीडीसीको कुनै प्रतिक्रिया नआएका कारण बजेट विनियोजन गर्न नसकिएको नगरपालिकाको नगरपालिकाले बताउँदै आएको छ ।
भवन सहितको जग्गा पाइएन
दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले भने गोदावरी नगरपालिकामा भवन सहितको संरचना नपाइएपछि सर्ने निर्णय लिइएको बताए । उनले आफूहरूलाई जग्गा मात्रै उपलब्ध भएर सञ्चालन गर्न सक्ने अवस्था नभएकाले संरचना सहितको जग्गाको खोजी गरिरहेको बताए ।
‘मेरो गोदावरीमा कुरा गरे पनि गोदावरीका मेयर ज्युले जग्गा उपलब्ध गराउने भने पनि घर उपलब्ध गराउन सक्ने अवस्थामा छैनौ भन्नु भएको थियो । वहाहरुको आन्दोलनका क्रममा आफ्नै क्षति भएर पनि हुन सक्छ । वहाँहरूले नसकेकै कारण हाम्रो कुनै अर्को विकल्प नभएपछि सुरक्षित कारोबार गर्नको लागि धनगढी सरेका हौ’ उनले भने ‘हामीलाई भवन सहितको जग्गा आवश्यक हुन्छ । हामीलाई १/२ सटक दिएर हुँदैन । त्यो संरचना दिन नसकिने कुरा भएपछि हामी अगाडि बढेका हौ ।’
उनले अत्तरियामा दैनिक २ हजार २५ सय लिटर दूध सङ्कलन हुन्छ भन्ने परिकल्पना गरेर डीडीसी स्थापना गरिएको बताउँदै अहिले दैनिक ६ हजार ८ हजार लिटर दूध सङ्कलन भइरहेको बताए ।
‘अहिलेको ठाउँमा विस्तार गर्ने अवस्था छैन । हामीले सुदूरपश्चिमको समस्या समाधान गर्ने मनसायले काम गर्छौ । पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि हामीलाई मापदण्ड नपुगेको भनिरहेको छ । मापदण्ड पुरा गर्नको लागि अहिलेको ठाउँमा सम्भव छैन’ उनले भने ‘पहिलो प्राथमिकता पुरानै ठाउँ हुन । त्यसका लागि गोदावरी नगरपालिकामा पत्राचार पनि गरेका थियौ ।’
उनले सुदूरपश्चिममा घाटामा दूधको कारोबार गरिरहेको बताए । ‘सुदूरपश्चिममा हामीले घाटामा दूधको कारोबार गरिरहेका छौ । यहाँ थोरै मात्र खपत हुने भएकाले ढुवानी सहित प्रतिलिटर १५ देखि २० रुपैयाँ म्यानेजमेन्ट खर्च गरेर काठमाण्डौं, चितवन, पोखराका सहरहरूमा ल्याइरहेका छौ’ उनले भने ‘त्यही भएर हामी ठुलो ठाउँमा जान खोजेका थियौ । यस बिचमा हामीले धनगढीमा संरचना सहितको क्षेत्र पाएका थियौ । हाम्रो मेजर सरोकार डीडीसीलाई दूध उपलब्ध गराउने सहकारी हुन्छ । अहिले सहकारीहरूले दूध उत्पादन बढाइरहेका छन् । त्यसैले सीमित ठाउँमा काम गर्न सक्ने अवस्था छैन ।’
उनले तालाबन्दी भए पनि हाम्रो मुख्य उद्देश्य किसानको सेवा सँगै मापदण्ड अनुसार काम गर्नुपर्ने भएकाले अहिलेकै ठाउँमा सञ्चालन गर्नुको औचित्य नहुने बताए ।

















