डोटी – डोटीको सायल गाउँपालिका–४, खालीखोलामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कञ्चनपुरको पुनर्वास–२ का २८ वर्षीय ईश्वर थापाले चलाएको सु.प.प्र. ०१–००१ च ४२५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप सायलबाट दिपायलतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान छ ।

घाइते हुनेहरूमा चालक थापासहित आदर्श–७ की ५४ वर्षीया हरिदेवी कापडी, सायल–२ का ३१ वर्षका दिल्ली राज ओझा, ४० वर्षका भोजराज ओझा, भोजराजका ११ वर्षका छोरा आमत ओझा र सायल–४ का ४३ वर्षका टेकराज ओझा रहेका छन् ।

प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ र उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



















