अत्तरिया – कञ्चनपुरको कृष्णपुरकी विनीता चौधरी पहिला नजानेका कुरा सोध्न डराउँथिन । आफूलाई लागेका कुरा भन्न पनि हिचकिचाउने उनले आजभोलि भने सार्वजनिक कार्यक्रममा पनि निर्धक्क भएर बोल्न सक्ने भएकी छिन । ११ वर्षकी उनी अचेल कक्षाकोठामा मात्रै नभएर बाहिर भएका कार्यक्रममा पनि आफ्ना भनाई राखिन्छ । उनी अचेल समयको पनि पालना गर्छिन् । बिहान समयमै उठ्ने, घरमा आमाबुवालाई सघाउने गर्छिन् । विनीता जस्तै राजकुमार विक पनि अहिले बोल्न सक्ने भएका छन् । उनी पनि आजभोलि कक्षा कोठामा मात्रै नभएर गाउँघरमा हुने कार्यक्रममा पनि बोल्न सक्छन् ।
विनीता र राजकुमार जस्तै कञ्चनपुरको कृष्णपुरका २ सय बालबालिकाले रूपान्तरण कक्षा लिएपछि धेरै सुधार भएको छ । उनीहरू निर्धक्क बोल्न सक्ने, आफ्ना अधिकारका बारेमा बोल्न सक्ने भएका छन् ।

विगत ६ महिना देखि रूपान्तरण कक्षामा सहभागी हुँदै आएकी अमित चौधरी रूपान्तरण कक्षा लिए पनि आफू धेरै मानिसको अगाडी बोल्न सक्ने मात्रै नभएर बाल अधिकारका बारेमा पनि जानकारी पाएको बताइन । उनले भनिन ‘मैले राम्रा बानी सिकेको छु । साथीसँग बोल्ने खोल्ने बालविवाहको बारेमा पनि सिकेको छु ।’

उनी जस्तै प्रीन्सि चौधरीले पनि सन्तुलित खाना खानुपर्ने कुरा, सागपात फलफूल गेडागुडी खानुपर्छ भन्ने कुरा सिकेको बताइन । उनले महिनावारिको बारेमा पनि आफूले सिकेको बताइन ।

रूपान्तरण कक्षामा सहभागी विकल्प चौधरीले पनि रूपान्तरण कक्षाले बोल्न सिकेको र साथीहरूलाई सहयोग गर्न पनि सिकेको बताए । ‘मैले साथीभाइलाई सहयोग गर्नुपर्छ । आफूभन्दा ठुलाको सम्मान सानालाई माया गर्नुपर्छ भन्ने कुरा रूपान्तरण कक्षामा सिकेको छु’ उनले भने ‘रूपान्तरण कक्षा लिएर म मा धेरै परिवर्तन आएको छ । उनी जस्तै अर्चना भाट बालविवाहको बारेमा सिकेको बताइन । उनले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नहुने कुरा सिकेको बताए ।
रूपान्तरण कक्षामा सहभागी भएपछि बालबालिकामा आएको परिवर्तनले अभिभावक पनि दङ्ग छन् । अभिभावक अनिता विकले रूपान्तरण कक्षामा सहभागी भए पनि बालबालिकामा धेरै परिवर्तन आएको बताएन । उनले बालबालिकाबाट आफूहरूले पनि धेरै कुरा सिक्न पाएको बताइन । अभिभावक कृति चौधरी बालबालिकामा सुधार आएको र बचत गर्नै बानी विकास भएको बताइन । उनले छोरीले महिनावारी स्वच्छताका बारेमा सिकेका कुरा आफूलाई पनि सिकाएको बताइन ।

वल्र्डभिजन इंटरनेशनलको सहयोगमा नगरपालिका सँगको समन्वयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) मार्फत सञ्चालित एकीकृत बाल संरक्षणका लागि हातेमालो परियोजना अन्तरगत सञ्चालित रूपान्तरण कार्यक्रम सञ्चालन गरेपछि अहिले बालबालिका सँगै अभिभावक पनि सचेत बन्न थालेका छन् । परियोजना अन्तरगत पालिकाको वडा नम्बर १, २, ४, ७ र ९ का ८ समूहमा रूपान्तरण कक्षा सञ्चालनमा रहेको छ । रूपान्तरण कक्षामा १० देखि १२ वर्ष उमेर समूहका बालबालिका सहभागी छन् ।

परियोजनाका बाल संरक्षण अधिकृत गणेश भुलले प्रत्येक समूहमा २५ जना बालबालिकाको सहभागिता रहेको बताए । उनले ८ समूहमा कक्षा सञ्चालनका लागि १६ जना साथी शिक्षक रहेको बताए । ‘रूपान्तरण कक्षामा १५ वटा मोडेल छ । ती मोडेलहरूमा साथी शिक्षकहरूले विभिन्न क्रियाकलाप गरेर सिकाउने गरेका छन्’ उनले भने ‘यी मोडेल भित्र बालबालिकालाई विश्वासका पात्र को को हुन । प्रभावकारी समन्वयन कसरी गर्ने, कुनै घटना भए कहाँ सम्पर्क गर्ने लगायतमा विषयवस्तु सिकाइन्छ ।’
उनले ६ महिना सम्म सञ्चालन हुने पहिलो चरणको रूपान्तरण कक्षा सकिन लागेको बताउँदै पुनः यसलाई निरन्तरता दिनका लागि छलफल भइरहेको बताए । एनएनएसडब्लुएले हाल कृष्णपुरमा करिब २५ सय बालबालिकालाई समेटेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।


















