धनगढी – बिष्ट कल्याणकारी समाज कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेदेखि धनगढीको यात्री होटलको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रम दिउँसो सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रमबाट ५६ पिन्ट रगत संकलन भएको छ । बिष्ट कल्याणकारी समाजका अध्यक्ष मदन सिंह बिष्टले रक्तदानमा सहभागी भएर ५६ जनाले रक्तदान गरेको जानकारी दिए । उनकाअनुसार रक्तदान गर्न पुगेका २० जनाले भने स्वास्थ समस्याका कारण रगत दिन नपाएपछि फिर्ता भएका थिए ।



समाजले सामाजिक उत्तरदायित्व अन्तरगत पहिलोपटक शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । समाजले अगामी दिनमा समेत सामाजिक उत्तरदायित्वका कामहरू गर्ने जनाएको छ ।
प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्टले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष मदन सिंह बिष्टले गरेका थिए ।
रक्तदान कार्यक्रममा सुदुरपश्चिमका सर्वाधिक रक्तदाता तथा रक्तदान सदभावना दुत दीपक उपाध्यायको समेत उपस्थिति रहेको थियो ।
बिष्ट कल्याणकारी समाजका अध्यक्ष बिष्टले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सफल पार्न विभिन्न ढंगले सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

















