प्रा. डा. युवराज संग्रौला – राष्ट्रको निर्माण गर्न इतिहासमा धेरैले कठोर मेहनत गरेका छन्, आफ्नो समयको माग अनुसार। राजा एलम्बरले “गणसमुह” का रूपमा रहेका गोपाला र महिसपालाहरुको शासन पछि, एउटा व्यवस्थित राज्य व्यवस्था निर्माण गरे। उनले जमिनको व्यवस्थापन सहित खेतीको व्यवस्थाद्वारा डुलिहिडने “फिरन्ते जीवन प्रणालीलाई स्थायी बसोबास गर्ने नागरिक समाज प्रणालीमा बदले। कुथेर, माप्चोक, लिङ्गवाल जस्ता अदालत, कर प्रणाली, सैन्य जस्ता संस्था निर्माण गरी नेपाललाई एउटा “परिभाषित राज्य व्यवस्थामा ढाले।” तसर्थ उनी प्राचीन नेपालका एक महान् राजा हुन। प्राचीन नेपालका निर्माता हुन।


लिच्छवी कालिन इतिहासका अध्येता जगदीशचन्द्र रेग्मीले “मानदेवले कसरी नेपालको एकीकरण गरे भन्ने सूक्ष्म ढङ्गले विवरण तयार गरेका छन्।” मानदेव पनि प्राचीन नेपालका एक निर्माता नै हुन। वृषदेवले मगधको अतिक्रमण समाप्त गरे। मल्लपुरीका अशुंबर्माले काठमाडौँ आइ अहिर गुप्तहरूले नेपालमा अधीन जमाएको अवस्थालाई समाप्त गरी नेपाललाई पुन हस्तक्षेप बिहिन बनाए। नरेन्द्र देवले केरुङ, काठमाडौँ हुँदै मगध जाने “प्राचीन सिल्क रोडको शाखाको संरक्षण गरी नेपाललाई धनी बनाए र चीन सँग औपचारिक सम्बन्धको स्थापना गरे। यही समयबाट नेपालले कागज उत्पादन गर्न सिक्यो र आज सम्म नेपाली कागज चलिरहेको छ।
यसको केही समयपछि नेपालको केन्द्रीय सत्ता कमजोर भयो। परिणाम स्वरूप किरात, बेसालीका लिच्छवी, वैदेहका मैथिल, काठमाडौँका नेवार, तराइका थारु, मध्यपश्चिमका मगर, र पश्चिमका मल्ल र खसहरूका ६ वटा सभ्यता बाहक हिमवतखन्डको प्रतिनिधित्व गर्ने नेपाल अनेक राज्यमा टुक्रियो।

आधुनिककाको सुरुवात तिरै भारतमा व्यापारका नाममा बन्दुक लिएर आएका ब्रिटिस अतिक्रमणकारीले भारतका मूर्ख रजौटाको लोभ र विलासको फाइदा उठाइ उपनिवेशवाद लादे। ब्रिटिस इस्ट इन्डिया कम्पनीले भारतमा ब्रिटिस साम्राज्य खडा गर्यो। यसको प्रतिवाद गर्दै राजा पृथ्वीनारायण शाहले विश्वमै उपनिवेशवादका विरुद्धमा पहिलो आन्दोलनको प्रतिनिधित्व गर्ने “नेपालको एकीकरणको अभियान सुरु गरे। नेपालले ब्रिटिस सँग घुँडा टेकेन र आफ्नो भूमिको ठुला हिस्सा गुमेपनी नेपाल उपनिवेशबाट मुक्त रह्यो।
१. यो हो हाम्रो इतिहास। तर बारवरा, लियो रोज, जुडि र अनेक सिक्किममा पसेकी होप कुक जस्ता जासुसहरूले पश्चिमी प्रभाव निर्माण गर्दै नेपाललाई खम्पा विद्रोहको केन्द्र बनाए। सिल जस्ता संस्थाहरू निर्माण गरे र यसको विरुद्ध घुँडा नटेकेका राजा महेन्द्रको शायद यिनै शक्तिले षडयन्त्रमूलक ढङ्गबाट अन्ते गरे। राजा महेन्द्र र योगी नरहरिनाथले “नेपालको मानसिक स्वतन्त्रता समाप्त गर्ने योजना स्वरूप ल्याएको अमेरिकी लगानीको नयाँ शिक्षा योजना नेपालमा लानुहुन दिएनन्।’

२. तर दुर्भाग्य के भयो भने राजा वीरेन्द्रले पश्चिमी उदारवादी शिक्षाबाट प्रवाहित हुँदै, राजा महेन्द्रको सिहंदरवारलाइ शक्तिशाली बनाइ राजदरबारलाई शक्तिकेन्द्र बन्न नदिने योजनाका विरुद्ध “वरिपरि सचिवहरूको घेरा सहितको दरबारिया शक्ति निर्माण गर्ने अल्लारे योजनाले सिंह दरवारको प्रभावकारीता र राजनीतिक उदारवादको बाटोमा फर्किने महेन्द्रको योजना तुहियो।
३. यही समयमा पस्यो २०२८ सालको कथित नयाँ शिक्षा योजना, जसको नेतृत्व गरेका थिए इलोनोइका एक अमेरिकी प्राध्यापकले। योगी नरहरि नाथले रोहिकराइ गरे यो शिक्षा लागू नगर्न। तर दरबारका सचिवले उनलाई शत्रु देखे। यही समयदेखि नेपाल पश्चिमी विदेशी सहायताको दुर्व्यसनको बिरामी भयो। यस शिक्षाले नेपालको इतिहास र संस्कृति ध्वस्त पारिदियो।आज नेपाल पश्चिमी मानसिक उपनिवेशको दास बनेको छ। आज देशमा लोकतन्त्रका नाममा आधा नेपाली (जन्मिएको ठाउँ र थर नामले नेपाली देखिने तर विदेशीको पालन पोषणमा हुर्किएका) र आधा विदेशी (ग्रिन कार्ड बोकेका, विदेशी आइएन्जिओबाट पालिएका) अनेक मान्छे देशमा विदेशीको हैकम स्थापित गर्दैछ्न।
कांग्रेस र सत्तासीन पार्टीभित्र पनि यस्तैको हुकुम चल्छ। जेन्जी आन्दोलनमा विद्यार्थी मराएर अहिले यिनीहरूको राजनीतिक वर्चस्व निर्माण भएको छ। देशभक्ति, नेपाली इतिहास, नेपाली संस्कृति, मातृभाषाहरूको नास भएको छ। देशमा कठोर भूराजनीतिक प्रतिस्पर्धा सुरु भएको छ। सन १८१६ को सुगौली संन्धी देखि नेपालका अनेकौँ संन्धीहरु नष्ट गर्न सिंह दरबार जलाइएको छ। यो सहने, राष्ट्र प्रति एक रति ख्याल नभेको “विस्मरण” को रोगले ग्रस्त नागरिकको निर्माण गरिंदैछ। राष्ट्र ध्वस्त गर्ने अपराधीक समूह निर्माण गरीएकोछ। देशको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने इतिहासको निर्माण गर्ने सपुतहरूको अपमान गरिएको छ।
४. आज देशमा राजनीति एउटा वितण्डाको रूपमा खडा भएको छ। २०७२ सालको पश्चिमी शक्तिले लादेको संविधानबाट फाइदा उठाएर “अपवित्र गठबन्धन बनाउँदै नीतिगत भ्रष्टाचार, राज्यका श्रोतको लुट र समग्र भ्रष्टाचारको खेती गर्ने” नेताहरू विदेशीका चेसका गोटिनै थिए। आज यिनका घर जलाएर अर्का थरी सत्तामा जान अनेक जाल बुन्दैछ्न।
५. आज एक थरी पश्चिमी देशका आइएन्जीओमा आबद्ध तथा पश्चिमी देशमा घर बास बनाएका, श्रीमान् श्रीमती भएका, विदेशी एम्बेस्सीका नेपाली संगठनका सदस्य बनेका मान्छे समाविष्ट दलहरू बन्दैछ्न। नेपालको सङ्कटपूर्ण बनेको भूराजनीतिको एउटा पक्ष यो हो।
६. यसको प्रतिवादमा भारतको प्रभाव निर्माण गर्नेहरूको अर्को शक्ति बन्ने प्रक्रिया सुरु भएको छ।जेन्जी आन्दोलनका समयमा भारतीय कुटनैतिज्ञका संरक्षणमा बसेका नेता देखी त्यहाको दानापानी खाने सम्म भारत लक्षधर राजनीतिक दल निर्माण गर्ने तरखरमा छन्। सङ्कटपूर्ण भूराजनीतिको अर्को पक्ष यो हो।
७. यो अवस्थामा घर्म, संस्कृति, भाषा, इतिहासको कुरा त पर जावस, यस कठिन भूराजनीतिबाट राष्ट्रलाई जोगाएर कमाइ खाने ८०% नागरिकको समृद्धि कसरी निर्माण गर्ने हो भनी सोच्ने देशभक्तहरूको खडेरी छ। नेपाललाई तिब्बती शरणार्थीको केन्द्र बनाउन चाहने तत्त्वले चीनलाई उत्तेजित पारिरहेका छन् । अतः राष्ट्रको संरक्षण गर्ने देशभक्त शक्ति सङ्गठित हुन सकेको छैन। अहिले विगतका दलमा गाँसिएर भ्रष्टाचारको गन्ध नलागेका देशभक्तहरू, समाजको समावेशी परिवर्तनका पक्षधर प्रगतिशीलहरू, सामाजिक उदारवादीहरूको मोर्चा बन्नुपर्ने अवस्था छ। यस्तो व्यक्तिहरू विभाजित छन् ससाना टुक्रे पार्टीमा विभाजित छन्, तर सङ्कटपूर्ण भूराजनीतिले राष्ट्रको पक्षमा उनिहरु जुरुक्कै एक भएर उठ्नु पर्ने अवस्था छ।अतः
(क) सामूहिक नेतृत्वको सिद्धान्तमा आधारित,
(ख) आर्थिक समता, राजनीतिक स्वतन्त्रता, भाषिक-धार्मिक- लैङ्गिक-तथा सभ्यताको समावेशिता र उत्पादनको विकासमा आधारित सार्वजनिक अर्थतन्त्रको संरक्षणमा क्रियाशील अर्थतन्त्र र स्वरोजगार निर्माण गर्ने उत्पादनका केन्द्र बन्ने शिक्षा र
(ग) भ्रष्टाचारको अखडा बनेको सङ्घीयताको सम्बोधन र स्थानीय तहको गैर दलीय स्वायत्तता सहितको भूगोल, वर्ग र व्यवसाय र सेवा क्षेत्र, विद्यार्थी, शिक्षक, र निवृत्त कर्मचारी र सुरक्षाकर्मी सबैको संलग्नता रहेको संसद्,
(घ) सबै सभ्यता र संस्कृति र धर्मको प्रतिनिधित्व रहेको राष्ट्रिय सभा, र
(ङ) विदेशीको प्रवाभहिन जनउत्तरदायी प्रधानमन्त्री सहितको सामूहिक नेतृत्व रहेको कार्यकारी मन्त्रीपरिषद् निर्वाचन गर्ने गरी संविधानको संशोधन गर्ने लक्ष्य सहितको समतावादी समाज निर्माण गर्ने शक्तिको उदय आवश्यक छ। यो शक्तिको नेतृत्व विज्ञहरू गर्दै राजनीतिमा पुस्तान्तरणको रणनीतिक लक्ष पुरा गर्नुपर्छ। राष्ट्रलाई विदेशीहरूको रणभूमि बनाउनेहरूको उद्देश्य पुरा हुन नदिउँ ।
प्रा. डा. युवराज संग्रौला

















