खाेज्नुहाेस

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको कनेक्सन खोज्दै प्रहरी

Image

सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परे सँगै बेलडाँडी गाउँपालिका ३ कमरीका ५० वर्षीय हरिकिसन रानाको मृत्यु प्रकरण फेरि चर्चामा आएको छ । राना गत वैशाख ९ गते बेलौरी नगरपालिका १० कलकत्ता बजार नजिकै शिवनगरमा जलेको अवस्थामा मृत भेटिएका थिए । सडक छेउमा राना र उनी सवार मोटरसाइकल जलेको अवस्थामा भेटिएको थियो ।

यही घटनालाई लिएर उपाध्यक्ष नाथलाई प्रहरीले बिहीबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले ज्यान सम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । रानाकी श्रीमती फिरिया देवी रानाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले नाथलाई नियन्त्रणमा लिएर घट्नाबारे वर्षदिनपछी फेरि अनुसन्धान गरिरहेको हो ।

attariya hospital

जाहेरीमा उपाध्यक्ष नाथले कृषि अनुदान र भैँसी पालनका लागि सरकारी बजेट मिलाइदिने प्रलोभन देखाएर ठुलो रकम लेनदेन गरेको दाबी गरिएको छ । जाहेरीमा उल्लेख भए अनुसार, अनुदान मिलाइदिने बहानामा मृतक रानासँग पटक–पटक गरी करिब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको र सोही विषयमा विवाद हुँदा हत्या गरिएको आरोप लगाइएको छ ।

सय भन्दा बढीको बयान

हरिकिसन राना मृत भेटिएपछि सुरुवात देखि नै परिवारले हत्या भएको दाबी गर्दै आइरहेका थिए । हत्याको शङ्का परिवारले शान्ति नाथमाथि नै गर्दै आइरहेका छन् । तर नाथले नै हत्या गरेको वा हत्या उनको संलग्नता छ भन्ने अहिलेसम्म पुष्टि हुने कुनै प्रमाण भने फेला पर्न सकेको छैन ।

navjiwan hospital

पुरानो लेनदेन विवादलाई लिएर परिवारले नाथले नै हत्या गरेको दाबी गर्दै आइरहेका छन् । रानाको हत्यापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेको थियो । घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार परिवारले दाबी गरेअनुसार उपाध्यक्ष नाथले रानाको हत्या गरेको भन्ने गरी कुनै तथ्यगत प्रमाण भेटिएको छैन ।

‘घटनापछि हामीले विभिन्न कोणबाट अनुसन्धान गरिसकेका छौ, अनुसन्धान गरिएका तिन वटा फाइल त्यही इप्रका बेलडाँडी मै छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ‘उपाध्यक्ष नाथ सहित राना सँग कारोबार भएका व्यक्ती, भैँसी पालन सँग सम्बन्ध राख्ने सहित सय भन्दा बढी व्यक्तिहरूको बयान लिइएको छ ।’

सबैको बयान लिइसकेपछि कारोबार भएको विषय वा अन्य कारणले रानाको मृत्युमा उपाध्यक्ष नाथको संलग्नता छ भन्ने पुष्टि हुने तथ्यगत प्रमाण नभेटिएको प्रहरी अधिकृतको भनाई छ । कुनै प्रमाण नभेटेपछि उनलाई प्रतिवादी बनाएरै राख्ने, अनुसन्धान प्रक्रियामा जोडिहाल्ने अवस्था नरहेको प्रहरी अधिकृतको भनाइ छ ।

घटना हुँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट दुई टोलीले घटनाबारे अनुसन्धान गरेको थियो । टेक्निकल टिम र जलेको मृत भेटिएको ठाउँमा आगलागी सम्बन्धी हेर्ने आर्सनिङ टोलीले समेत अनुसन्धान गरिएको थियो ।

‘घटनामा त्यति बेला केन्द्रीय, प्रदेश र जिल्लाको अनुभवी अनुसन्धान टोलीले डक्स मेचिङ, आर्सनिङ प्रक्रिया, बिटिएस प्रक्रिया, सिडिआर एलिलाइसेस लगायतका अनुसन्धान प्रक्रियामा आवश्यक विधि अपनाई तीन वटा फायल तयार पारिसकिएको छ’ ती प्रहरी अधिकृतले भने ‘थप अनुसन्धान प्रक्रियाका लागि सफ्ट फाइल र हार्ड कपि इप्रका बेलडाँडी मै छ ।’

प्रहरी अधिकृतका अनुसार अनुसन्धान गर्दा रानाको हत्या परिवारले शङ्का गरेको व्यक्ति वा अन्य कोही हो भन्ने तथ्यगत प्रमाण भेटिसकिएको छैन । अब एक वर्षपछि परिवारले शङ्का गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) खडक बहादुर खत्रीले पुरानै अनुसन्धान बाटै फेरि अनुसन्धान हुने बताए ।

‘हामीले परिवारको किटानी जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएका हौ, अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेका छौ,’ एसपी खत्रीले भने ‘यसको अनुसन्धान बेलडाँडी प्रहरीले गर्ने छ ,घटनाबारे यसअघिको अनुसन्धान पनि हेरिन्छ ।’