सन्तोष पन्त, बेलौरी – स्थानीय युवालाई विपद् व्यवस्थापनमा सक्षम बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकामा २१ दिने ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू भएको छ । मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी, कञ्चनपुर र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा तालिमको उद्घाटन गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका गणपति एसपी प्रेमप्रसाद सिग्देलका अनुसार तालिममा बेलौरी नगरपालिकाका विभिन्न वडाका २१ जना पुरुष र ९ जना महिला गरी जम्मा ३० जना युवा सहभागिता छन् । तालिममा सहभागीहरूलाई सैद्धान्तिक र व्यवहारिक गरी कुल ६३ पिरियड प्रशिक्षण दिइनेछ ।

प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतसहित ७ जना विशेष दक्ष प्रशिक्षकले तालिम दिइरहेका छन् ।
तालिममा प्राथमिक उपचार, बाढी, पहिरो तथा डुबान उद्धार, अग्नी नियन्त्रण, वन डढेलो व्यवस्थापन, डोरीको माध्यमबाट गरिने उद्धार र सडक दुर्घटना जोखिम न्यूनीकरण जस्ता विषयहरू समावेश गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले जानकारी दिए ।


















