अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ८ हजार बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । सरकारले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत गोदावरीमा ८ हजार बालबालिकालाई खुवाउन लागिएको हो ।
गोदावरीका १०७ केन्द्रमा स्वास्थ्य स्वयंसेवक मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । उनका अनुसार आज १०७ केन्द्रमार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने छ भने भोलि छुटेकाहरूलाई घर घरमा गएर खुवाइने छ ।



सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते नेपालमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, यस वर्ष कात्तिक २ र ३ गते तिहार पर्व परेकाले स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको सचिव स्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो ।
आज र भोलि देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ । यस अभियानका लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि पनि खुवाइने छ ।















