बाजुरा – बाजुराका किसानले स्याउ बिक्री गरेर एक करोड २० लाख आम्दानी गरेका छन् । यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, खप्तड छेडेदह गौमुलका किसानहरु स्याउ उत्पादन गरी देशका विभिन्न सहरमा बिक्री गर्दै आएका छन् । यहाँका किसानले यो वर्षमा पनि गाउँमै उत्पादन गरेको अर्गानिक स्याउ देशका विभिन्न सहरमा बिक्री गरेर झण्डै एक करोड २० लाख रुपियाँ आम्दानी गरेका हुन् । यहाँ एक वर्ष राम्रो स्याउ फल्ने र अर्को वर्ष अति कम फल्ने गर्छ । अधिल्लो वर्षमा स्याउ राम्रो उत्पादन भएको थियो भने यो वर्ष अलि त्योभन्दा कम स्याउ उत्पादन भएको किसान बताउँछन् ।

गत भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो । तर बाटो बन्द भएकोले त्यो स्याउ समयमै बिक्री गर्न लागि बजारसम्म पुर्याउन नसकेपछि घाटा बेर्होनु परेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताए ।


गत वर्षमा पनि स्याउ पाकेर सकिने बेलामा बाटो खुल्यो । यो वर्षमा पनि त्यसै भयो । यता कर्णाली करिडोरको बाटो खुलेको भएर किसानलाई सहज भयो । त्यतिदेखि स्याउ बजारमा बिक्री गर्दा पनि यहाँका किसाने दुई चार लाख रुपियाँ आम्दानी गरेको रावतले बताए । यो वर्षमा स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले मात्र ४० लाख बराबरको स्याउ बिक्री गरेको स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा प्रमुख विनोद शाहीले बताए । उनले भने, “यहाँ झण्डै दुई हजारभन्दा बढी घरधुरी छ ।
त्यसमा झण्डै १६ सय परिवारले स्याउ लगाउँछन् ।” यहाँ यती बेला १२ ट्रक स्याउ कर्णाली करिडोरदेखि सुर्खेत, नेपालगञ्ज धनगढीलगायतका सहरमा बिक्री हुँदा किसाने ४० लाख आम्दानी गरेको शाहीले बताए । बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा नगरपालिकाका स्याउ राम्रो उत्पादन हुन्छ । यहाँका बुढीगङ्गा, खप्तड छेडेदह, बडिमालिका र गौमुलमा स्याउ उत्पादन हुने गरेको भए पनि यहाँभन्दा बढी स्याउ मल्लो क्षेत्रमा हुन्छ ।