अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर रोटाभेटरमा परेका एक बालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो आफ्नै खेत जोतिरहेको ट्याक्टरबाट खस्दा चालकका ७ वर्षीय छोरा सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार ३७ वर्षीय खडकबहादुर चौधरीले चलाएको से २ त ३६७२ नम्बरको ट्याक्टरमा सवार सुशान्त अचानक खस्दा पछाडिको भागमा जोडिएको रोटाभेटरमा परेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्याक्टरका साहु खुसीराम चौधरी प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक हिरा सिंह महराको कमाण्डमा टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
















