खाेज्नुहाेस

सुदूरपश्चिमका जनप्रतिनिधिद्वारा निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन माग 

Image
अत्तरिया – सुदूरपश्चिमका जनप्रतिनिधिले राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेकाले सेवा प्रवाह गर्ने वातावरण बनाउन माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम अध्यक्ष लोकेन्द्र बहादुर शाही,  नेपाल नगरपालिका सङ्घ सुदूरपश्चिम संयोजक वीरेन्द्र भट्ट, र जिल्ला समन्वय समिति महासङ्घ सुदूरपश्चिम संयोजक गगन भण्डारीद्वारा जारी संयुक्त विज्ञप्तिमा स्थानीय सरकारका सम्पत्ति तथा दस्ताबेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउ ज्यान, निजी सम्पत्ति तथा उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन माग गरेका हुन ।
attariya hospital
शुक्रवार जारी विज्ञप्तिमा जेन जी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति सम्पूर्ण स्थानीय सरकारहरू अत्यन्त दुखित भएको उल्लेख छ ।
navjiwan hospital
विज्ञप्तिमा आन्दोलनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिता जस्ता जायज मागमा  समर्थन रहेको उल्लेख छ । तर, सोही आन्दोलनको आडमा भएको अवाञ्छित घुसपैठका कारण उत्पन्न अराजक अवस्थाबाट ऐतिहासिक धरोहर र संरचना, महत्त्वपूर्ण राष्ट्रिय दस्ताबेजलगायत सरकारी कार्यालय तथा सम्बद्ध निवासमा भएको आगजनी, तोडफोड तथा जनप्रतिनिधिहरूप्रति गरिएको अमानवीय व्यवहारप्रति खेद व्यक्त गर्दै, मानवअधिकार विरोधी क्रियाकलापको घोर भर्त्सना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘सुदूरपश्चिम प्रदेश सरकारका र स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पु-याउने, साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेका छन् । तसर्थ, स्थानीय सरकारका सम्पत्ति तथा दस्ताबेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउ ज्यान, निजी सम्पत्ति तथा उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन सम्माननीय राष्ट्रपतिज्यू र सुरक्षा निकायहरूसमक्ष हार्दिक अनुरोध गर्दछौँ । साथै, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बद्र्धन गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह नियमित गर्न सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूमा हार्दिक आह्वान गर्दछौँ ।’