अत्तरिया – कैलालीको गेटा अस्पतालले विशेषज्ञ सहित २४ घण्टा सेवा दिन थालेपछि सेवा लिने बिरामीको चाप बढ्दै जान थालेको छ । अस्पतालको ओपिडीबाट कार्डियोलोजी, पेडियाट्रिक्स, नेफ्रोलोजी, न्युरोलोजी, साइकेट्रिक लगायतका विशेषज्ञ सेवा सँगै २४ घण्टा इमर्जेन्सी, ल्याब फार्मेसी लगायतका सेवा दिन थालिएपछि बिरामीको चाप बढेको हो ।
सेवा विस्तार हुँदा गत एक आर्थिक वर्षको तुलनामा अघिल्लो एक महिनामै उल्लेख्य सङ्ख्यामा बिरामीले सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा १६ हजार १२९ जना बिरामीले ओपिडी सेवा लिएकोमा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ३ हजार १५५ जनाले ओपिडी सेवा लिएको बताए ।

जसमध्ये गत आर्थिक वर्षमा १२ हजार ९७ जनाले प्रयोगशाला सेवा लिएकोमा चालु आर्थिक वर्षको साउन महिनामा १ हजार ५६३ जनाले प्रयोगशाला सेवा लिएका छन् ।
गत आर्थिक वर्ष एक्स–रे ४ हजार ४८० जना, अल्ट्रासाउन्ड ४ हजार ३५४ जना, ई सिजी १ हजार ९२८ जना, इण्डोस्कोपी ११० जना, इको ३०४ जना, मेमोग्राम ९६ जनाले लिएकोमा चालु आर्थिक वर्षको साउनमा मात्रै एक्स–रे ९२९ जना, अल्ट्रासाउन्ड ६२४ जना, ई सिजी ४३६ जना, इण्डोस्कोपी ३३ जना, इको १९९ जना, मेमोग्राम २२ जना बिरामीले गराएको सूचना अधिकारी कार्कीले बताए ।
जेठ ११ गते सुरु भएको इमर्जेन्सीबाट गत असार मसान्त सम्म ९२ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्षको साउनमा ११६ जनाले सेवा लिएको बताए । साउनमा ६१ जना बिरामी इण्डोरमा भर्ना भएको सूचना अधिकारी कार्कीले बताए । जुन अघिल्लो वर्ष शून्य थियो ।

अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवले पछिल्लो समय अस्पताल जस्तो हुनुपर्ने हो त्यस्तो हुन थालेको बताए । उनले आफूले कार्यकाल सम्हालेको ४ महिनामा विशेषज्ञ चिकित्सक थप गरेर अस्पताललाई २४ घण्टा सञ्चालन गर्न सफल भएको बताए । उनले अब अस्पतालमा आएको बिरामीलाई बाहिर पठाउनु पर्ने अवस्था नरहेको बताए । उनले सुदूरपश्चिममा भएका अस्पतालहरूले दिइरहेका सेवाको डुब्लिकेसन गर्ने भन्दा पनि गेटा अस्पताललाई फरक तरिकाले अगाडि बढाउन खोजिरहेको बताए । जसअनुसार यस क्षेत्रमा नभएका सेवा विस्तार भएको र केही हुने क्रममा रहेको बताए ।
हाल अस्पतालमा सुदूरपश्चिमका अन्य ठाउँमा नभएको मेमोग्राम सेवा, मोड्युलर ओटी, मोड्युलर ल्याब सेवा सञ्चालनमा रहेको बताए । उनले अस्पतालमा आर्थोस्कोपी सेवा पनि सञ्चालनमा रहेको बताए ।
अस्पतालले आइसियु सेवा सञ्चालनको तयारी थालेको जनाएको छ । अस्पतालका निर्देशक यादवले यसै महिना भित्र आइसियु सेवा सञ्चालन गर्ने तयारी रहेको बताए । उनले १० बेडको आइसियु र ३ बेडको सिसियु सेवा सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले हाल सञ्चालनमा रहेका इमर्जेन्सी, इण्डोर सहित आइसियु, सिसियु सेवा सञ्चालन गरेर ७५ बेडबाट सेवा विस्तार गर्ने तयारी रहेको बताए ।
हाल दरबन्दी रहेको १४१ जना पदपूर्ति भएकाले थप स्कलरसिपका चिकित्सक र नर्स ल्याएर भए पनि यसै महिना देखि सेवा विस्तार गर्न लागिएको उनले बताए ।
उनले हाल अस्पतालमा २४ घण्टा इमर्जेन्सी सेवा, २४ घण्टा ल्याब, एक्स–रे सेवा, एकद्धार सङ्कट प्रणाली सेवा (ओसीएमसी), सामाजिक सुरक्षाको कार्यक्रम, हाइ डिपेन्डिसी युनिट २ बेड, २४ घण्टा फार्मेसी सेवा सञ्चालनमा रहेको बताउँदै गाइनो, सर्जरी अर्थोपेडिक सेवा सुरु सञ्चालनमा रहेको बताए ।
उनले विभिन्न विशेषज्ञ सेवा सुरु गर्दा अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताए । उने कार्कियोलोजी सेवा सुरु गरेपछि अहिले सम्म १२ सय जनाले सेवा लिइसकेको बताए । ‘अहिले हामीले ओपिडी इमर्जेन्सीबाट इन्ट्री गरेका बिरामीको सबै उपचार यही हुने व्यवस्था मिलाएका छौ’ उनले भने ‘हामीले अहिले ब्लड बैङ्कको पनि स्थापना गर्ने तयारी गरेका छौ ।’


















