अत्तरिया – कैलालीको गेटा अस्पतालले प्रदेशमै पहिलो पटक मेमोग्राम सेवा दिँदै आएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा स्थापना गरिएको गेटा अस्पतालले स्तनको जाँच गर्ने मेमोग्राम सेवा दिइरहेको हो ।
गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवले महिलाहरूमा स्तन क्यान्सर छ या छैन भन्ने जाँच गर्न मेमोग्राम गरिने बताए । मेमोग्राफी गर्दा स्तनभित्रको असामान्य गाँठो वा टिस्यु देखाउने गर्दछ । यो ४० वर्षभन्दा माथिका महिलाले नियमित रूपमा जाँच गर्नुपर्ने सेवाका रूपमा रहेको चिकित्सकहरू बताउछन ।

अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले गत आर्थिक वर्षमा ९६ जनाले मेमोग्राम सेवा लिएको बताए । उनले चालु आर्थिक वर्षको श्रावणमा मात्रै २२ जनाको मेमोग्राम गरिएको बताए ।
गेटा अस्पतालले आर्थोस्कोपी सेवा पनि दिँदै आएको छ । जुन सेवा पनि यस क्षेत्रकै पहिलो भएको अस्पतालका निर्देशक डा. यादवले बताए । आर्थोस्कोपीमा हड्डी वा जोर्नीको उपचारमा प्रयोग हुने सर्जिकल उपकरण हो । यसलाई जोर्नी भित्र भएको समस्या पत्ता लगाउन पनि प्रयोग गरिन्छ । यो सेवा नियमित रूपमा हाल टीकापुर अस्पतालमा मात्रै उपलब्ध छ ।

निर्देशक यादवले अस्पतालमा प्रदेशकै पहिलो मोड्युलर ओटी, मोड्युलर ल्याव सेवा पनि दिइरहेको बताए ।
आइसियु, सिसियु सेवा सञ्चालनको तयारी
अस्पतालले आइसियु सेवा सञ्चालनको तयारी थालेको जनाएको छ । अस्पतालका निर्देशक यादवले यसै महिना भित्र आइसियु सेवा सञ्चालन गर्ने तयारी रहेको बताए । उनले १० बेडको आइसियु र ३ बेडको सिसियु सेवा सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले हाल सञ्चालनमा रहेका इमर्जेन्सी, इण्डोर सहित आइसियु, सिसियु सेवा सञ्चालन गरेर ७५ बेडबाट सेवा विस्तार गर्ने तयारी रहेको बताए ।
हाल दरबन्दी रहेको १४१ जना पदपूर्ति भएकाले थप स्कलरसिपका चिकित्सक र नर्स ल्याएर भए पनि यसै महिना देखि सेवा विस्तार गर्न लागिएको उनले बताए ।
उनले आफ्नो कार्यकालको ४ महिनामा २४ घण्टा इमर्जेन्सी सेवा, २४ घण्टा ल्याब, एक्स–रे सेवा, एकद्धार सङ्कट प्रणाली सेवा (ओसीएमसी), सामाजिक सुरक्षाको कार्यक्रम, हाइ डिपेन्डिसी युनिट २ बेड, २४ घण्टा फार्मेसी सेवा, पनि सुरु गरेको बताए ।
यस्तै पछिल्लो ४ महिनामा कार्डियोलोजी, बाल रोग/पेडियाट्रिक्स, नेफ्रोलोजी, न्युरोलोजी, साइकेट्रिक लगायतका विशेषज्ञ सहित र गाइनो, सर्जरी अर्थोपेडिक सेवा सुरु भएको निर्देशक यादवले बताए ।


















