अत्तरिया – फुटपाथ माथि फाटेको त्रिपाल, त्रिपाल माथि फाटेकै बोरामा बसेर कर्ण बहादुर सार्की जुत्ता चप्पल सिलाउने ग्राहक कुरिरहेका थिए । उनको पहिलो नजर हिँडिरहेका मान्छेको अनुहार भन्दा खुट्टामा पुग्थ्यो । ‘खुट्टामा फाटेको जुत्ता, चप्पल लगाएका मानिस हाम्रा ग्राहक हुन सक्ने धेरै सम्भावना हुन्छ’ उनले हाँस्दै भने ‘तर, आजभोलि यस्ता मानिस भेटिनै मुस्किल छ ।’ विगत ४४ वर्ष देखि कैलालीको अत्तरियाको सडक किनारामा बसेर यसै गरी उनको दिनचर्या बितिरहेका छन् । ‘पहाड (डोटी) बाट १६ वर्षको हुँदा मलाई बुबाले तराई ल्याएर आउनु भयो । मैले यहाँ आएदेखि नै सडक किनारामा बसेर जुत्ता चप्पल सिलाउने काम गरे’ उमेरले ६० कटेका कर्णले विगत सम्झिदैे भने ‘उति बेला त यहाँ बजार पनि थिएन । २/४ खोका थिए । मैले पनि सडकको किनारामा यसै गरी बसेर काम गर्न सुरु गरेको हुँ ।’
उनले केही समय सडक निर्माणको काममा लागे पनि पुस्तैनी पेसा नै सहज लागेर जुत्ता चप्पल सिलाउन थालेको बताए । उति बेला दिनमा ५ देखि १० रुपैयाँ सम्म कमाई भए पनि घर चल्ने गरेको भए पनि अहिले कमाइ भन्दा बढी महँगाइ बढ्दा झन् समस्या हुने गरेको उनले सुनाए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ मौरीफाटामा बस्दै आएका उनले अहिले कमाइएको पैसा कहिले काहीँ आउजाउमै सकिने गरेको बताए । ‘उति बेला ५० पैसामा घर पुगिन्थ्यो । अहिले ३० रुपैयाँ तिर्नुपर्छ’ खल्तीमा दिनभरिको कमाइ भएको पैसा देखाउँदै उनले भने ‘आज दिनभरि २५० रुपैयाँ कमाइ भएको छ । यसमा ६० रुपैयाँ भाडामै सकिने हो । बच्ने त्यै १९० जति हो । यो रुपैयाँले के हुन्छ ?’

हिउँदमा कुनै दिन हजार बाह्र सय सम्म कमाइ भए पनि बर्खाको बेला भने ४–५ सय पनि नपुग्ने उनले बताए । ‘हिउँदमा मानिसहरू जुत्ता लगाउछन, फाँटेको पनि सिलाउन्छन । अलि अलि कमाइ हुन्छ’ उनले भने ‘बर्खामा धेरै मानिसले चप्पल लगाउन्छन । त्यो पनि फाटेपछि सिलाउने चलन हराउँदै गएकाले ग्राहक धेरै कम आउछन । पहिले बकुल्ला छाप चप्पल फाँटेपनि ५ पैसामा सिलाएको सम्झना छ । अहिले अहिले सिलाइको चप्पल धेरै कमले मात्रै लगाउने गर्छन ।’

४४ वर्षदेखि कर्ण सडक किनारामा जुत्ता चप्पल सिलाउँदै आएका भए पनि उनका बुवा, बाजेले भने डोटीको सिलगढी बजारमा छालाको जुत्ता बनाएर बेच्ने गर्थे । पछि परिवारको आकार बढेपछि त्यसै ठाउँमा खान लाउन पनि धौ–धौ हुन थालेपछि तराई झरेका थिए । ‘उति बेला पढ्न पनि पाएनौ । स्कुलमा पढ्न गए तल्लो जातीकाले छुटै बस्नुपथ्र्यो । बाटोमा हिँड्दा पनि छुन मिल्थेन’ उनले भने ‘त्यसरी पढ्न पनि मन लागेन । बुवाले म १६ वर्षकै हुँदा तराई ल्याएपछि जुत्ता चप्पल सिलाउनमै लागिहाले ।’
जुत्ता चप्पल सिलाएर तीन छोरा हुर्काएका उनले अहिले एक छोरो नेपाल सेना र दुई छोरा भारतमा रोजगारी गरिरहेको बताए । ‘अहिले त पहिलाको जस्तो बाध्यता छैन । तर, पनि आँखा देख्दा र हात नकाँपुन्जेल सम्म काम गर्ने मन छ’ उनले भने ‘मैले पुरै जीवन यसैमा बिताए पनि छोराछोरी हुर्काउन पाएकोमा खुसी नै छु ।’ उनले देशमा धेरै परिवर्तन आएको भए पनि अहिले पनि आफ्नो समुदायका धेरै युवा भने यसरी नै सडकमै काम गर्न बाध्य भएको बताए ।
‘मैले यो अत्तरिया चोकमा पहिलो पटक राजाको सालिक राखेको पनि देखे पछि भत्काएको पनि देखे अहिले नयाँ सालिक राखेको पनि देखिसके’ उनले भने ‘अत्तरिया चोक फेरियो, बजार फेरियो, नेता फेरिए । तर, अझै पनि हाम्रो समुदायको अवस्था फेरिन सकेको छैन ।’


















