शुक्लाफाँटा– शुक्लाफाँटा नगरपालिका–८ कार्यालयले वडाभित्र अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न टोली परिचालन गर्ने भएको छ। वडा कार्यालयले सूचना जारी गर्दै सात दिनभित्र सम्बन्धित विवरण उपलब्ध गराउन सबै सरोकारवालासँग आग्रह गरेको हो।

वडा कार्यालयका अनुसार नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर तथा शुक्लाफाँटा नगरपालिकाको निर्देशनअनुसार सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र अभिलेख व्यवस्थापन अभियानअन्तर्गत टोली परिचालन गर्न लागिएको जनाएको छ।

सूचनामा विद्यालय, धार्मिक संस्था, सहकारी, उपभोक्ता समिति, वन समूह, टोल विकास संस्था लगायतलाई आफ्नो क्षेत्रभित्र अतिक्रमण भएका सार्वजनिक जग्गाको विवरण वडा कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। विवरण इमेल र व्हाट्सएपमार्फत पठाउन सकिने जनाइएको छ।
निर्धारित समयभित्र वास्तविक विवरण प्राप्त नभए प्रचलित कानूनअनुसार प्रक्रिया अघि बढाइने वडा कार्यालयले जनाएको छ।


















