काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिका क्षेत्रमा युवकको हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा सुदूरपश्चिमका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१०,मा युवकलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको जनाएको हो ।

प्रहरीका अनुसार गुल्मीको २२ वर्षीय विपिन घिमिरे माथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनापछि फरार रहेका आरोपितहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा अछामको साफेबगर नगरपालिका – ४ घर भई काठमाडौंको कीर्तिपुर–९ बस्दै आएका २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपाकिला –४ घर भई कीर्तिपुर–१० बस्दै आएका २५ वर्षीय रबिन्द्र धामी तथा कैलालीको घोडाघोडी नगरपालिका –१ घर भई कीर्तिपुर–८ बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


















