अत्तरिया – कैलालीको अत्तरियामा आजदेखी ‘स्वास्थ्य युवा महोत्सव सुरु हुने भएको छ । समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा आजदेखी स्वास्थ्य महोत्सव सुरु हुन लागेको हो ।

मंसिर ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले रक्तदान गरेर उद्घाटन गर्ने आयोजकले जनाएको छ । स्वास्थ्य महोत्सवको उद्घाटन पछि आँखा र महिलाहरुको पाठेघरको क्यान्सरको चेकजाँच गर्ने कार्यतालिका रहेको नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लले जानकारी दिए ।

उनले त्यसपश्चात अपांगता भएका व्यक्तिहरुको सवालमा नेपाल सरकारले गरेका कामहरुका बारेमा प्रतिनिधि सभा सदस्य रमेश प्रसाई, निजि अस्पतालका प्रदेश पुर्व अध्यक्ष जनकराज जोशी, सुदूरपश्चिम अपांग महासंघका अध्यक्ष नन्दराज भट्टसँग प्यानल डिस्कसन गरिने बताए । प्यानल डिस्कसनलाई सुप समावेशी आधारभुत विद्यालयका प्रधानाध्यापक मान बहादुर साउँदले सहजीकरण गर्ने उनको भनाई छ ।
स्वास्थ्य युवा महोत्सवमा लागुऔषध दुव्र्यसनी, बाँझोपन, हर्मनको गडबडी लगायत विभिन्न मानसिक तनावहरुका विषयमा प्रत्येक दिन विशेषज्ञहरुद्धारा परामर्श दिने कार्य समेत गरिने मल्लले बताए ।



















