बाजुरा – बाजुरामा पर्यटकीय क्षेत्रको रूपमा निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–४, बार्जुकोट भ्युटावर अलपत्र परेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने तथा यहाँका स्थानीयको आर्थिक स्तर उन्नती गर्ने उद्देश्यले निर्माण गरिएको बार्जुकोट भ्युटावर निर्माण गरिएको थियो । आर्थिक वर्ष २०७७–७८ सालमा निर्माण कार्य सुरु गरिएको बार्जुकोट भ्युटावरको काममा लापरबाही भएपछि अहिले त्यो अलपत्र परेको हो । पर्यटकीय क्षेत्रको रूपमा रहेको सो टावर निर्माणको काम सम्पन्न नहुँदा अलपत्र रहेको बुढीगङ्गा नगरपालिका–४ का स्थानीय रामचन्द्र गिरीले बताए ।
उनले भने ‘यो टावरभन्दा त यहाँ रहेको पहिलाको दरबारलाई नै निर्माण गरिदिएको भए बरु त्यसमा अहिले वयोवृद्ध युवायुवतीहरू हेर्नेका लागि आउने जाने गर्थे । त्यसलाई सङ्ग्राहलयको रूपमा पनि लिन सकिन्थ्यो ।’ यो काम न काजको भ्युटावर निर्माण गरेपछि अहिले यहाँका किशोर किशोरीहरू यसमा आएर मदिरा र धूम्रपान सेवन गर्ने गरेको गिरीले बताए ।

करिब पाँच वर्षदेखि बार्जुकोट भ्युटावर निर्माणको काम अलपत्र छ । टावर निर्माण सम्पन्न तथा सञ्चालन गर्ने विषयमा कसैले चाँसो लिएका छैनन् । यता टावर वन तथा पर्यटन विकास कार्यक्रम अन्तर्गत पर्ने भएकाले यसको रेखदेख डिभिजन वन कार्यालयले गरेको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय नरेन्द्र नाथले बताए । प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा आव २०७७–७८ मा बार्जुकोटमा भ्युटावर निर्माणको काम सुरु गरिएको थियो ।

ऐतिहासिक तथा पुरातत्वको दृष्टिकोणले महत्वपूर्ण मानिएको आर्जुकोट दरबार क्षेत्रमा निर्माण गरिएको भ्युटावर निर्माणका लागि आव २०७७–७८ मा ३५ लाख र आव २०७८–७९ दोस्रो वर्ष ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको समितिका सचिव डम्मर रावतले बताए । उनले भने ‘टावर निर्माण उपभोक्ता समितिले उक्त रकमबाट पहिलो वर्ष चार लाख र दोस्रो वर्ष ३० लाख रुपियाँ भुक्तानी लिए पनि ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।’
रकम अपुग भएका कारण टावर निर्माण अलपत्र परेको हो । निर्माणको काम रोकिएपछि झ्यालढोका तोडफोड गरेका छन् । त्यसको रेखेदेख तथा सुरक्षा गर्न पनि बजेट नभएको अवस्था छ । स्थानीयवासीको ७५ प्रतिशत लगानीमा टावर निर्माण गर्नुपर्ने अवस्था आएको समितिका सचिव रावतले बताए ।
आर्थिक वर्ष २०७७–७८ सालको योजनाहरूमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धानको टोलीबाट छानबिन भइरहेको डिभिजन वन कार्यालय बाजुराका सुचना अधिकारी सुभाष ऐडीले बताए । उनले भने ‘योजनाको त्यो बेला सुरु गरिएका सबै योजनाको काम कमसल भएको समाचारमा आएपछि अहिले उनीहरूको धरौटी रोकिएका छन् ।’ योजनाको काम कमसल भयो भनेर अख्तियारले फाइल नै तानेपछि अहिले त्यो बेलाका सबै योजनाको धरौटी रोकिएको सुचना अधिकारी ऐडीले बताए ।

















