खाेज्नुहाेस

सीप मेलामा घघँरिया, अँगिया बनाउन सिक्दै महिलाहरु

Image

अत्तरिया – कैलाली र कञ्चनपुरका आदिवासी रानाथारु समुदायको आकर्षक पोसाकका रुपमा चिनिने घघँरिया, अँगिया सिलाउन महिलाहरु जुटेका छन । धनगढीमा जारी सीप तथा रोजगार मेलामा २४ जना महिलाहरुले अहिले राना थारु समुदायको मौलिक परम्परागत पोसाक घघँरिया, अँगिया बनाउन सिकिरहेका हुन ।

धनगढी उपमहानरपालिका – ७ देवारीयाकी निर्मला देवी रानाले बेसिक सिलाइकटाइ सिकेको भएपनि आफ्नो परम्परागत पोसाक सिक्न तालिममा सहभागी भएको बताइन् । ‘बेसिक सिलाईकटाइ तालिम लिएपनि यस्तो पोसक सिलाउन आउन्थेन । पहिला घरमा सासुले यो पोसाक सिलाउने गरेपनि मैले सिक्न पाएन’ उनले भनीन् ‘यो हाम्रो पहिचानको पोसाक हो । अहिलेको पुस्ताले नियमित रुपमा यो पोसाक नलगाउने गरेको भएपनि चाडपर्वमा लगाउने भएकाले यसको छुटै महत्व बढेको छ ।’ उनले घघँरिया, अँगिया सिलाउन सिकेर व्यवसायीक रुपमा काम गर्न सकिने बताइन् । पोसाक महङ्गो र धेरै समय सिलाउने लाग्ने भएकाले सामुहिक रुपमा यसको व्यवसायीक उत्पादन गर्न सकिने उनले बताइन् ।

attariya hospital

धनगढी उपमहानगरपालिका – ८ की राखी रानाले आफ्नो कला संस्कृती जोगाउन घघँरिया, अँगिया सिलाउन सिक्न आएको बताइन् । उनले पछिल्लो समय यसको बजारमा माग पनि बढेको बताइन् । ‘राना समुदायको पोशाकको अहिले राम्रो बजार छ । सजिलै विक्रि हुने गरेको छ’ उनले भनीन् ‘अहिले ठुला बडा सबैले यसको खोजी गर्न थालेका छन । गाउँघरमा सधै नलगाएपनि विशेष समारोहमा यसको राम्रो माग छ ।’

धनगढी उपमहानगरपालिका – ३ चटकपुरकी जानकी कुमारी रानाले पनि आफ्नो संस्कृती र भेसभुसा जोगाउनका लागि तालिममा सहभागि भएको बताइन् ।

उनले घघँरियामा कसिदा भर्न र गोट तयार गर्न सिकिसकेको बताइन् । ‘यसको सिलाई एकदमै जटिल छ । सिक्दै जाँदा अहिले सजिलो लाग्दै गएको छ’ उनले भनीन ‘सुरुमा निकै गाह्रो थियो । अब सिक्न सकिन्छ जस्तो लागेको छ ।’ सीप सिकेपछि आफ्नै व्यवसाय गर्ने योजना रहेको उनले बताइन् ।

navjiwan hospital

तालिमकी प्रशिक्षक निरासु रानाले घघँरिया, अँगिया बनाउने काम निकै जटिल भएको बताइन । उनले नयाँ सिकिरहेको मान्छेलाई यो पोसाक तयार गर्न एक महिना सम्म समय लाग्ने बताइन् । सिलाईमा समय लाग्ने भएकाले यसको सिलाईको ज्याला ६ हजार लाग्ने गरेको उनले बताइन् । उनले कपडा सहित पोसाक तयार गर्न २५ हजार सम्म खर्च लाग्ने गरेको बताइन् ।

विभिन्न कपडाको मिश्रणबाट तयार गरिने घघँरियामा गोट, तोइ, मगजी, घुट्टा, कञ्चट, सबैया, कसिदा, अरसी, टिकुली, गिडासी, फुल्वा, सितारा र कन्ठी चालालाई जोडेर तयार गरिन्छ । यस्तै अँगियामा मडना, मग्जी, बहँटी, कखौटी, जोकी, पछुवा, लाक, छाती, पछौटी, झालर, तिरपर, तनी, ताना जोडिन्छ ।

गाउँमा पोसाक तयार गरेर बिक्री गर्दै आएकी प्रशिक्षक रानाले घघँरिया, अँगियाको बजार राम्रो भएको बताइन् । ‘म आफै पनि यो पोसाक सिलाउन्छु । यसको व्यापार राम्रो छ’ उनले भनीन् ‘यो पोसाक विशेष पर्व, बिहे कार्यक्रममा लगाउन्छौ । मैले घरमै सिकेको हो । यसलाई पहिलो जस्तै बनाइने गरेको भएपनि बुट्टाहरुमा समय अनुसार परिवर्तन हुँदै गएको छ ।’

उनले बिचमा लोप भएजस्तो देखिएपछि पछिल्लो समय घघँरिया, अँगियाको माग बढेको बताइन् । ‘बिचमा यो लोप भएजस्तो देखिएपनि अहिले पुनः प्रचारमा आएको छ । यो पोसाक बजारमा नपाइएपछि गाउँघरमा प्रचलनमै रहेको छ’ उनले भनीन ‘अहिले गाउँघरमै पोसाक तयार गरेर पनि सामाजिक संजाल फेसबुट, टिकटकबाट पनि बिक्री गर्दै आइएको छ ।’ उनले पछिल्लो समय कैलाली कञ्चनपुरमा मात्रै नभएर भारतमा पनि यो पोसाकलाई फेसनको रुपमा लगाउन थालिएको बताइन् ।

भिडियाे