अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयकमा आरक्षणको व्यवस्था गर्न माग गरिएको छ । विश्वविद्यालयको विधेयक प्रतिनिधि सभामा पेस हुने तयारीमा रहेका बेला चिकित्सा शिक्षा अध्ययन गर्नका लागि विद्यार्थी भर्ना गर्दा सुदूरपश्चिमको निश्चित प्रतिनिधित्व हुने गरी आरक्षणको व्यवस्था गर्न माग गरिएको हो । तत्कालीन पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले निश्चित आरक्षणको व्यवस्था नगरिँदा यस क्षेत्रका जनताले पढ्नै नै नपाउने अवस्था आउन सक्ने भएकाले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताए । स्थानीय जनताले स्थानीय स्तरमा चिकित्सा शिक्षा अध्यापन गर्न पाउने सुनिश्चितताका लागि विधेयकमा आरक्षणको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे ९आगो० ले विधेयकमा सुदूरपश्चिमको आरक्षणको व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले निश्चित समयका लागि आरक्षणको व्यवस्था गरेर यस क्षेत्रका विद्यार्थीले पढ्न पाउने सुनिश्चितता गरिनुपर्ने बताए ।


केही दिन अघि गेटा अस्पतालको अवलोकन गर्न आएका प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले पनि विधेयका यस क्षेत्रको लागि आरक्षणको व्यवस्था नभएको बताएका थिए । उनले आरक्षण सँगै शुल्कका विषयमा पनि अहिले नै छलफल गर्नुपर्ने बताएका थिए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिमको आरक्षण राख्नुपर्ने आफूहरूको पनि सरोकारको विषय भएकाले यस विषयमा पनि यस क्षेत्रका सांसदहरू सँग कुरा राख्ने बताए । उनले विधेयक प्रतिनिधि सभामा छलफलमा क्रममा जाने भएकाले त्यहाँबाट आरक्षणको विषय उठान भएमा यसमा संशोधन गर्न सकिने बताए ।
‘अहिले विधेयमा आरक्षणको व्यवस्था छैन भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन’ उनले भने ‘जसरी हामी अहिले विश्वविद्यालय सञ्चालन गर्ने कुरा, शैक्षिक सत्र सञ्चालन गर्ने कुरामा लागेका छौ त्यसरी नै हामी सुदूरपश्चिमको राइट खोज्ने कुरामा हामीहरू लाग्छौ । त्यसका लागि यहाँका संघीय सांसदहरूलाई पनि हामी कुरा राख्छौ ।’


















