अत्तरिया – कैलालीको गेटामा रहेको गेटा आँखा अस्पतालमा चमेना गृह भवन निर्माण गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा अस्पताल परिसरमा चमेना गृह निर्माण गरिएको हो ।
चमेना गृहको बिहीबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छन् । नगरप्रमुख भट्टले गेटा आँखा अस्पताल गोदावरी नगरपालिका भित्र भएकाले यसको अपनत्व नगरपालिकाले लिएर भवन निर्माण गरिएको बताए । उनले आगामी दिनमा समन्वयन गरेर गेटा आँखा अस्पतालको आवश्यकता पूर्तिका लागि सधैँ तत्पर रहने बताए ।



गेटा अस्पतालका निर्देशक सुरेश राज पन्तले अस्पतालमा क्यान्टिन बनेपछि सेवा प्रवाहमा सहज हुने बताए । उनले यसअघि व्यवस्थित क्यान्टिन नहुँदा अस्पतालमा आउने बिरामी र अस्पतालका कर्मचारीले समस्या भोग्नु परेकोमा अब सहज भएको बताए ।
नेत्र ज्योति सघ सुदूरपश्चिम सभापति चक्र बहादुर सिंहले गेटा अस्पतालमा गोदावरी नगरपालिकाले अपनत्व लिएर भवन बनाएकोमा धन्यवाद ज्ञापन गरे । ‘गोदावरी नगरपालिका यो अस्पतालको अभिभावक पनि हो’ उनले भने ‘यसमा अहिले नगरपालिकाले भवन बनाएर अपनत्व लिएकोमा धन्यावाद दिन चाहन्छु ।’ उनले अस्पतालले पछिल्लो समय भौतिक रूपमा फड्को मार्दै गएको बताए ।
गेटा आँखा अस्पताल अध्यक्ष लोक राज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल सदस्य यज्ञ राज चौधरीले स्वागत मन्तव्य राखेका थिए । अस्पताल परिसर भित्र सञ्चालित क्यान्टिन भवन गोदावरी नगरपालिकाको ६५ लाखको लागतमा निर्माण गरिएको नेत्र ज्योति सघका सचिव नरेन्द्र राज शर्माले बताए ।



















