अत्तरिया– नेकपा एकीकृत समाजवादीले कैलालीको गोदावरीमा पार्टीलाई सक्रिय बनाउने भएको छ । सोमबार बसेको पार्टीको नगर कमिटी बैठकले पार्टीलाई सक्रिय बनाउन नगरका १२ वटै वडामा वडा भेला गर्ने निर्णय गरेको हो । नगर सचिव किरण आलले पार्टीलाई सक्रिय बनाउन लगतै प्रत्येक वडामा कार्यक्रम सञ्चालन गरिने बताए ।
नगर कमिटी बैठकले पार्टीको १० औँ महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित चुन कुमारी चौधरी र केन्द्रीय सदस्यमा निर्वाचित लक्ष्मण कुँवरलाई बधाई दिएको थियो । नगर सचिव आलेले नगर कमिटी सह–सचिव देव नेपाली पढाइको लागि जापान प्रस्थान गरेकाले उनलाई पनि बैठकबाट बधाई दिने निर्णय गरिएको बताए ।

एकीकृत समाजवादीका नगर अध्यक्ष वीर बहादुर पालको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्य एवम् पुर्व राज्य मन्त्री चुन कुमारी चौधरी प्रमुख अतिथि रहेकी थिइन् ।


















