धनगढी – सुदूरपश्चिम सरकारले ३५ जना विद्यार्थीलाई एमबीबीएस पढाइरहेको छ । चिकित्सक संख्या न्यून रहेको सुदूरपश्चिममा प्रदेश सरकारले हरेक वर्ष नौ जनाका दरले हालसम्म ३५ जनालाई छात्रवृत्ति दिएर चिकित्सा शास्त्र संकायतर्फ स्नातक (एमबीबीएस) अध्यापन गराइरहेको हो । एमबीबीएस अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क प्रदेश सरकारले छात्रवृत्तिका रूपमा तिर्ने गरेको छ ।
अध्ययनरत ३५ जनामध्ये २७ छात्र र ८ छात्रा छन । उनीहरू मुलुकका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत छन । एमबीबीएस अध्ययन पूरा गरेपछि उनीहरूले दुई वर्ष अनिवार्य रूपमा प्रदेशमै सेवा गर्नुपर्ने सर्त छ । चालु आर्थिक वर्षमा पनि थप ९ जनालाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु भइसकेको छ ।


प्रदेश सरकारको छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीमध्ये सबैभन्दा धेरै बझाङका छन । बझाङबाट ६ छात्र र दुई छात्रा अध्ययनरत छन । बाजुराबाट तीन छात्र, कञ्चनपुरबाट तीन छात्र र दुई छात्रा, दार्चुलाबाट चार छात्र र एक छात्रा, डोटीबाट तीन छात्र र एक छात्रा, कैलालीबाट चार छात्र, अछामबाट तीन छात्र, डडेलधुराबाट एक छात्र र एक छात्रा तथा बैतडीबाट एक छात्रा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत रहेको मन्त्रालयकी प्राविधिक सहायक तुलसी ओझाले बताइन ।
प्रदेश सरकारले ०७८ देखि छात्रवृत्ति दिन थालेको हो । ०७९ मा भने दुई चरण गरी १८ जनालाई छात्रवृत्ति दिइएको मन्त्रालयले जनाएको छ । पहिलो ब्याचमा छात्रवृत्ति पाएका विद्यार्थी अहिले पढाइको अन्तिम वर्षमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । छात्रवृत्ति प्राप्त गर्न प्रदेश सरकारले मापदण्ड बनाएको छ । चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएकाले मात्र दाबी गर्न सक्ने प्रावधान छ ।
साथै, सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका दलित, आदिवासी, जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको हो । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई प्रतिवर्ष १० लाख रुपैयाँका दरले पाँच वर्षसम्म निरन्तर छात्रवृत्ति रकम प्रदान गरिँदै आएको छ ।
















