धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले देश संघीयतामा गए पनि अहिलेसम्म प्रदेशले अधिकार नपाएको बताएका छन । बुधकार ६९ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशले पाउने अधिकार नपाएकै कारण प्रदेश सरकारले धेरै कामहरू अगाडि बनाउन नसकेको बताए ।

उनले संघीय सरकारले ऐनहरू समयमा नबनाएको बताए । उनले भने ‘देश संघीयतामा गए पनि अहिलेसम्म प्रदेशले पाउने अधिकार पाएको छैन । प्रदेशले पाउने अधिकार नपाएकै कारण प्रदेश सरकारले धेरै कामहरू अगाडि बनाउन सकेको छैन । त्यसैभित्र प्रहरी समायोजन पनि पर्छ ।’

उनले प्रहरी समायोजनसहितका अधिकारहरू प्रदेशमा नदिने हो भने त्यसको विकल्प पनि सोच्नुपर्ने बेला आएको बताए । ‘प्रहरी समायोजन हुन्छ वा हुदैन ? यसको जवाफ संघीय सरकारले दिनुपर्छ ।
संघीय नेतृत्वले दिनुपर्छ। समयमा संघीय सरकारले समायोजन प्रकृया अगाडि बढाउन पर्दछ, हैन भने त्यसको विकल्पका रुपमा के गर्न सकिन्छ ? संघीय सरकारले सोच्न जरुरी छ’, मुख्यमन्त्री शाहले भने ।















