अत्तरिया– दशैतिहार नजिकिदै गईरहेको अवस्थामा कैलालीको गोदावरी नगरपालिकाले थालेको बजार अनुगमनमा साढे ६८ हजार बराबरका अखाद्य वस्तुहरु बरामद गरिएका छन । नगरपालिकाले शनिबार गरेको बजार अनुगमनमा उक्त रकम बराबरका अखाद्य लगायका अन्य विभिन्न वस्तु बरामद गरिएका हुन ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख लोक बहादुर खड्काले शनिबार अत्तरिया बजारका ७९ वटा पसलहरुमा अनुगमन गरिएको बताए । उनले मासु, किराना पसल तथा होटलहरुमा गरिएको अनुगमनमा ठुलो मात्रामा अखाद्य वस्तुहरु बरामद गरिएको बताए । उनका अनुसार कलर मिक्स गरिएका मासु, निषेधित गरिएका प्लाष्टिक, अखाद्य, म्याद नाघेका तथा लेबल नभएका मिठाईका सामग्री लगायतका खाद्य पदार्थहरु बरामद गरि नष्ट गरिएको छ ।


यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रतिनिधि तोयनाथ ओझाले पालिकाको बजार क्षेत्रमा शुक्रबार देखी अनुगमन भैरहेको बताए । उनले अनुगमनका क्रममा थुप्रै मात्रामा अखाद्य वस्तुहरु भेटिएको र उक्त वस्तुहरु नष्ट गरिएको बताए ।
उनका अनुसार अनुगमनका क्रममा अत्तरिया बजारमा सबै भन्दा बढी मात्रामा अखाद्य रंग भेटिएका छन । अखाद्य रंगको प्रयोग भएका बढी सामग्रीहरु जफत गरिएको उनले बताए । अन्य समयमा अनुगमन भैरहेका भएपनि चाडपर्वको समयमा भने बढी प्रभावकारी रुपमा अनुगमन हुने गरेको बताए ।
नेपालीहरुको महान पर्व दशैँ र तिहारलाई लक्षित गरि नगरपालिकाले शुक्रबारदेखी अनुगमन सुरु गरेको थियो । अत्तरिया बजारमा गरिएका अनुगमनमा शुक्रबार करिब १० हजार बराबरका अखाद्य वस्तुहरु बरामद गरिएको थियो । अत्तरिया बजारको पहाडरोड तिरका होटल तथा किराना पसलहरुमा ठुलो मात्रामा अखाद्य वस्तुहरु बरामद नभएका भएपनि शनिबार महेन्द्रनगर रोड र धनगढी रोडमा गरिएको अनुगमनमा भने ठुलो मात्रामा अखाद्य वस्तुहरु भेटिएका हुन ।
नगरपालिकाले दुई दिनसम्म गरेको अनुगमनमा करिब ७८ हजार ५०० बराबरका अखाद्य वस्तूहरु बरामद गरेको हो । बरामद गरेका सामग्रीहरु वडा नं. १ को कार्यालय नजिकैको क्षेत्रमा नष्ट गरिएको छ ।














