अत्तरिया – सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरीमा राजधानी नबनेपनि त्यहा राजधानी बन्ने चर्चाले टोलको नाम भने फेरिएको छ । राजधानी बन्ने चर्चा पछि अहिले सो क्षेत्रको एक टोलको नाम नै राजधानी मार्ग राखिएको छ । दक्षिण पट्टि राजधानीको सुरुको बिन्दु सँगै यसअघि महरा कटान टोल भनेर चिनिने ठाउँको नाम राजधानी मार्ग राखिएको स्थानीय लाल बहादुर खड्काले बताए ।
उनले टोलको नाम नगरपालिकाले बोर्ड लगाएर राजधानी मार्ग राखेपनि राजधानी बन्ने टुङ्गो नहुँदा आफूहरुले खिन्नता महशुस गर्नुपर्ने अवस्था रहेको बताए । ‘यो टोल भन्दा माथी राजधानीको क्षेत्र भएकाले यहाँ राजधानी नै बन्छ होला भनेर राजधानी मार्ग राखेका हौ’ उनले भने ‘तर, राजधानी बनेन, २ तिहाईले यहाँ राजधानी बनाउने भनेर पास ग¥यो भनेका हुन । तर अहिले सम्म यहाँ केही बनेको छैन । त्यतीकै नाम मात्रै राख्नका लागि पो भनेका हुन की ?’

उनले अहिले राजधानी तोकिएको क्षेत्र झन अलपत्र परेको बताए । ‘पहिले सामुदायिक वन क्षेत्रमा पर्ने भएकाले संरक्षण गरिएको थियो । अहिले संरक्षण पनि भएको छैन’ उनले भने ‘राजधानी भए त राम्रै हुन्थ्यो । अब नेताहरुको कुरा हो । उनीहरुले के गर्छन ।’

राजधानी मार्ग मै बस्दै आएकी तुलसी ओलीले राजधानी बनाउने भनेर नापी नक्सा गरिएपछि टोलको नाम राजधानी मार्ग राखिएको बताइन् । ‘राजधानी बनाउने भनेर नापी त भएको हो । नेताहरुको के भयो कुन्नी । जे भन्यो नेताले उही हुने त हो’ उनले भनीन् ‘पहिले राजधानी बनाउने भनेर नेताहरुले हात उठाउन्थे । अहिले कता गए ।’ उनले राजधानी घोषणा पछि केही पनि परिवर्तन नभएको बताइन् ।
गोदावरीका स्थानीय धर्मराज भट्टले राजधानी गोदावरीमा राख्ने भनेर दुई तिहाइले पारीत गर्दा पनि किन भौतिक संरचना बनेनन् भन्ने अचम्मको कुरा भएको बताए । उनले गोदावरीमा राजधानी घोषणा पछि जनताबाट कुनै विवाद नहुँदा पनि काम नगर्नु अनौठो कुरा भएको बताए । ‘स्वभाविक रुपमा सामान्य आन्दोलन भए पनि त्यसले त्यती जतिलटा उत्पन्न गरेको थिएन’ उनले भने ‘राजधानी तोकिएको क्षेत्रमा राजधानी बनाउने नेताहरुको चाहना नहुँदा काम भएन ।’
उनले सरकारले नै राजधानी बनाउने भनेर पास गरेको कुरालाई अब जनताले माग गर्नुपर्ने कुनै कुरा बाँकी नरहेको बताए । उनले सरकारले यसलाई गम्भिर रुपमा लिएर तत्काल उचित निर्णय लिनुपर्ने बताए । ‘सरकारले पास गरेको कुरामा जनताले माग गर्नुपर्ने त अब केही बाँकी छैन । कि अब सरकारले यसलाई खारेज गर्नुप¥यो । या त कार्यान्वयन गर्नुपर्यो’ उनले भने ‘सरकार जवाफदेहि हुनुपर्ने हो ।
त्यो देखिएन ।’ गोदावरीमा सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइले २०७५ असोज १२ गते गोदावरीको वडा नम्बर २ र ४ मा राजधानी तोकेको थियो । तर, राजधानी घोषणा भएको ६ वर्ष पुग्दा पनि अहिले सम्म भौतिक संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । प्रदेश सरकार भने राजधानी बनाउने भनेको गोदावरीको क्षेत्रमा मुद्दा परेकाले कुनै काम गर्न नसकेको बताउँदै आएको छ ।


















