खाेज्नुहाेस

बेलौरी पुगेका गृहमन्त्रीलाई भारतीय व्यापारीहरुको भन्सार सुचारु गर्न माग

Image

बेलौरी- गृहमन्त्री रमेश लेखकलाई भारतीय नगर व्यापार मण्डल खजुरियाले बेलौरी छोटी भन्सार सञ्चालनका लागि आग्रह गरेका छन् । मङ्गलबार कञ्चनपुरको बेलौरी पुगेका गृहमन्त्री लेखकलाई स्वागत गर्दै नगर व्यापार मण्डल खजुरियाका प्रतिनिधिहरुले बेलौरी छोटी भन्सार र पलिया भन्सार कार्यालयबीच विगतमा भइरहेको समन्वयलाई सम्झना गर्दै पुनः पुरानै अवस्थामा सञ्चालनका लागि पहल गर्न आग्रह गरेका हुन् ।

गृहमन्त्री लेखकलाई विशेष अनुरोध गर्दै नगर व्यापार मण्डल खजुरियाले नेपाल सरकारको गृहमन्त्री पदमा रहुञ्जेल भारत सरकारसँग समन्वय गरी दुबै क्षेत्रमा छिटोभन्दा छिटो भन्सार कार्यालय सुचारु गर्न आग्रह गरेका छ्न् । नगर व्यापार मण्डली खजुरियाका अध्यक्ष श्रीकेश सिंह, कोषाध्यक्ष विनय गुप्ता, महामन्त्री प्रभुनाथ सिंहको हस्ताक्षरित ज्ञापनपत्रलाई मङ्गलबार दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकलाई बुझाइएको छ ।

attariya hospital

भानपुरी खजुरियामा कस्टम कार्यालय खोल्नको लागि पूर्वमा केन्द्रीय गृह राज्यमन्त्री तथा लखिमपुर खिरी जिल्लाका निवर्तमान सांसद अजय मिश्रा टेनीले भारत तर्फबाट बारम्बार पहल गरिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । खजुरिया व्यापार संघ र बेलौरी व्यापार संघले बारम्बार उच्च अधिकारीसँग भारत सरकारलाई जानकारी गराइरहेको जनाउँदै नेपाल सरकारको तर्फबाट भन्सार सञ्चालनमा आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले आफूले बेलौरी छोटी भन्सार र भारतको खजुरियामा भन्सार कार्यालय सञ्चालनको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छ्न् । गृहमन्त्री लेखकले बेलौरीलगायत जिल्लाको व्रह्मदेव, दोधरा चाँदनी, पुनर्वास क्षेत्र विगतमा सञ्चालनमा रहेका छोटी भन्सार सञ्चालनमा आफू लागिपरेको आश्वासन दिएका छ्न् ।