खाेज्नुहाेस

कांग्रेस गोदावरीद्धारा स्वर्गिय पन्तको परिवारलाई आर्थिक सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ का स्वर्गीय नवराज पन्तको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाली कांग्रेस गोदावरी नगरकार्यसमिति अन्तरगतको उद्धार समितिले मंगलबार मृतक पन्तको घरमै गएर परिवारलाई नगद रु। १० हजार आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम मृतक पन्तका परिवारलाई कांग्रेसका नगर कार्यसमिति सभापति विर बहादुर चोखाल, क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, उद्धार समिति संयोजक प्रेम कुमाल, नगर सचिव योगेश भट्ट, कांग्रेसको गोदावरी – ३ का उपसभापति बेद प्रकाश पाण्डेय, टोल सभापति दुर्गा दत्त भट्ट लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

attariya hospital

उपचारका लागि भारतमा गएका पन्तको उतै निधन भएको थियो । आर्थिक अभावका कारण शव ल्याउन नसकिदा भारतमा निधन भएका पन्तको उतै दाहसंस्कार गरिएको नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए । उनले परिवारले आफन्तहरुको सहयोगमा भारतमै पन्तको दाहसंस्कार गरेको बताए ।

‘आर्थिक अवस्था एकदमै दयनिय छ, यताउति जोडजम्मा गरेर उपचारका लागि गएका नवराजको उतै निधन भयो’ उनले भने ‘आर्थिक अभावकै कारण परिवारले छोराको शव नेपाल ल्याउन सकेनन् र भारतमै रहेका आफन्तहरुले उनको दाहसंस्कार गरे ।’ भट्टले स्वर्गिय पन्तको क्रियाखर्चवाफत कांग्रेस गोदावरीको उद्धार समितिले सहयोग गरेको बताए ।

४ जनाको परिवार भएपनि आम्दानीको स्रोत केही नभएको भट्ट बताउँछन । ‘घरमा वृद्ध आमाबुवा छन, मृतकको एउटा अपांग भाई छ’ उनले भने ‘मृतकको श्रीमती र एउटा सानो भरखरको छोरा छ । ४ जनाको परिवारमा कमाउन सक्ने कोही छैन ।’

सोही कारणले नगरकार्यसमितिले स्वर्गिय पन्तको परिवारलाई सानो सहयोग गरेको उनको भनाई छ । नगरकार्यसमितिले ‘जसको कोहि छैन, उसको नेपाली कांग्रेस नगर कार्यसमिति’ भन्ने नारा लिएर पछिल्लो समय आर्थिक रुपमा विपन्न परिवारहरुलाई सहयोग गर्ने काम गर्दै आईरहेको छ ।