धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चार आधार बनाएर बजेट ल्याउने तयारी गरेको छ । बजेट शून्यतामा रहेको अवस्थामा प्रदेश सरकारले चार आधार बनाएर बजेट ल्याउने तयारी गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षको बजेट निर्माणका लागि चार वटा आधार सार्वजनिक गरेका छन ।
जसमा प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समिति मार्फत नगरिने उल्लेख छ ।

यसअघि प्रदेश सरकार टुक्रे योजना बनाएको, निजी र व्यक्तिगत रुपमा बजेट विनियोजन गरेको, उपभोक्ता समिति मार्फत बजेट बाडेको आरोप खेप्दै आएको थियो । यसअघिका सरकारहरूले ५० हजारसम्मका बजेट विनियोजन गर्दै आएका थिए भने उपभोक्ता समितिमार्फत समेत काम हुँदै आएको थियो । तर मुख्यमन्त्री शाहले उपभोक्ता समितिमार्फत काम नगराउने रणनीति लिएका छन् । साथै यसअघिका सरकारले व्यक्ति, समूह ,संस्था, निजी फर्म ,कम्पनी र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दै आएका थिए ।
प्रदेश सरकारले बजेट ल्याउने आधार सार्वजनिक गरेपछि बजेट ल्याउने मिति भने अझै सार्वजनिक गर्न सकेको छैन । यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत आर्थिक वर्षको असार १ गते चालु आर्थिक वर्षका लागि प्रदेश सभामा बजेट पेस गरेको थियो । तर, उक्त बजेटसम्बन्धी कानुनहरू पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश सरकार बजेट शून्यताको अवस्थामा छ ।
साउन २१ गते शाह नेतृत्वको सरकार गठन भएपछि साउन २३ गते सामयिक राजश्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरेपछि राजश्व संकलन गर्ने बाटो भने खुलाएको छ । तर विनियोजन सम्बन्धी कानुन नभएकाले सरकारले हालसम्म कुनै पनि खर्च गर्न नपाउने अवस्था छ । सरकार उधारोमा चलेको छ । नयाँ बजेट ल्याउनुअघि वर्तमान सरकारले यसअघिको सरकारले प्रदेश सभामा पेस गरेको विधेयकको निक्र्यौल गर्नुपर्ने छ । सरकारले त्यसबारे पनि अहिलेसम्म प्रष्ट पारेको छैन ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले अब चाँडै बजेट ल्याउने बताए । उनले बजेटको आधार तय भईसकेकाले चाँडै बजेट ल्याएर विकास निर्माणलाई गति दिने दावी गरेका छन । ‘जतिसक्यो चाँडै बजेट ल्याउँछौं,’ मुख्यमन्त्री शाहले भने । यसअघिका सरकारले पुर्वाधारकै साढे ६ हजार योजना बनाउने गरेकामा यसपाली ठोस र राम्रो रकमका योजना बनाउने नीति सरकारले लिएको मुख्यमन्त्री शाहले बताए ।
उनले चालु आर्थिक वर्षका लागि तयार भईरहेको बजेटमा २५ लाख भन्दा कम रकमका योजना नराख्ने, प्रदेश सरकारले कार्यान्वयन गर्ने कुनै पनि योजना उपभोक्ता समिति माफर्त नगर्ने बताए । ‘प्रदेश सरकारले कार्यान्वयन गर्ने कुनै पनि योजना टेन्डरबाट हुन्छ, उपभोक्ता समितिमार्फत काम गराईदैन’ मुख्यमन्त्री शाहले भने । भ्रष्टाचारमा सुन्य सहनशीलता अबलम्बन गर्ने प्रदेश सरकारको नीति भएको भन्दै मुख्यमन्त्री शाहले बजेट बनाउनु अघि नै सबै मन्त्रालयहरुलाई यस्तो निर्देशन दिईसकेको बताए । उनले पदस्थापनकै दिन गरिएका तीन वटा निर्णयहरु वित्तिय अनुशासन तथा सुशासन प्रबर्धनका लागि समिति गठन, प्रदेशबासीलाई रगत निशुल्क र प्रदेशबासीको जोखीम बीमाका बारेमा पनि प्रतिवद्ध भएको बताए ।


















