अछाम- बँदेलको आक्रमणबाट मृत्यु भएका अछामको एक पीडित परिवारलाई १० लाख राहत रकम दिइएको छ । तुर्माखाद गाउँपालिका–३ का बलबहादुर बयकको परिवारलाई उक्त रकम सहयोग गरिएको हो ।

बयककी श्रीमती २९ वर्षीया दिलादेवी बयकको २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएको थियो । एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले उनका श्रीमानलाई १० लाखको चेक हस्तान्तरण गरेका छन् ।

जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई ६७ लाख रकम प्रदान गर्नुपर्नेछ । जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका एक जनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख पाध्यायले बताए । अन्य घाइते, मृतक र जङ्गली जनावरले क्षति पु¥याएका किसानको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने उनले बताए ।

















