कैलालीमा स्वास्थ्यकर्मीले तलब पाएनन्

अत्तरिया – कैलालीमा स्वास्थ्यकर्मीले महिनौँ देखि तलब पाउन सकेका छैनन् । कैलालीको जानकी गाउँपालिकामा ९ महिना, गोदावरी नगरपालिकामा ८ महिना, गौरीगंगा नगरपालिकामा ५ महिना र धनगढी उपमहानगरपालिकामा ३ महिना देखि स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन । लामो समय देखि तलब नपाउँदा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल घट्नुका साथै केही स्थानमा आन्दोलनका कार्यक्रम पनि सुरु भएका छन् ।

Karma Consultancy

९ महिना देखि तलब नपाएपछि जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा बसेका छन् । गाउँपालिका भित्र कार्यरत ४७ जना स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब नपाएपछि धर्नामा बसेका हुन । आर्थिक वर्ष सकिनै लाग्दा पनि तलब पाउने सुनिश्चितता नभएपछि पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीले बिहीबार देखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेको बताएका छन् ।

citizen security services

गाउँपालिकाका स्वास्थ्य संयोजक जित बहादुर चौधरीले पटक–पटक आग्रह गर्दा पनि मन्त्रालयबाट तलब नआएपछि बाध्य भएर आफूहरू धर्नामा बसेको बताए । उनका अनुसार हाल जानकी गाउँपालिकामा २८ जनाको दरबन्दीमा ४७ जना कार्यरत रहेका छन् । दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी पालिका सँगको दोहोरो सम्झौतामा कार्यरत रहेका छन् ।

attariya hospital

चालु आर्थिक वर्षमा संघ सरकारबाट २८ जना स्वास्थ्यकर्मीको लागि पनि नपुग्ने गरी बजेट आएकोमा सो रकम सबै ४७ जनालाई वितरण गर्दा ३ महिनामै सकिएको थियो । त्यसपछि तलबका लागि थप रकम नआउँदा गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मीले ९ महिना देखि तलब पाउन सकेका छैनन् । स्वास्थ्य संयोजक चौधरीले तलब नआउँदा सम्म धर्नाको कार्यक्रम जारी रहने बताए । उनले माग पुरा नभएर थप आन्दोलन चर्काउने बताए ।

belauri nagarpalika

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले भने हाल पालिकाबाट स्वास्थ्यकर्मीलाई तलब दिन सक्ने अवस्था नरहेको बताए । उनले पालिकामा आफ्नो कार्यकाल भन्दा पहिले नै स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेकाले व्यवस्थापनमा समस्या भएको बताए ।

गोदावरीमा पनि स्वास्थ्यकर्मीले ८ महिनादेखि तलब पाउन सकेका छैनन् । स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले स्वीकृत दरबन्दीका ५२ गरी ९१ स्थायी स्वास्थ्यकर्मीले तलब नपाएको बताए । उनले केन्द्रबाट स्वीकृत दरबन्दीकै कर्मचारीका लागि आवश्यक पर्ने रकममा पनि १ करोड १६ लाख कम आउँदा सबै स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको बताए ।

गौरीगंगा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पनि ५ महिना देखि तलब पाउन बाँकी रहेको छ । स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद भुसालले फागुनदेखिको तलब रोकिएको बताए । उनले तलब रोकिएपछि पालिकामा ज्ञापन पत्र बुझाउने काम गरिएको र, पालिकाले सकारात्मक प्रतिक्रिया दिएको बताए । ‘केन्द्रबाट तलब नआए पालिकाबाट भए पनि दिनुपर्ला भन्ने कुरा भएको छ’ उनले भने ‘हेरौ केही दिन भन्ने समझदारी बनेको छ ।’ गौरीगंगामा हाल स्वीकृत दरबन्दीका २१ सहित २८ स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । गौरीगंगामा पनि स्वीकृत दरबन्दीका २१ जनाका लागि आएको तलब २८ जनालाई वितरण गरिदा बजेट अपुग भएको हो ।

कैलालीकै धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पनि ३ महिना देखि तलब पाउन बाँकी रहेको छ । स्वास्थ्य शाखाका प्रमुख योगेश कुमार अवस्थीले संघबाट आएको बजेट सकिएपछि चैत्र यताको तलब पाउन बाँकी रहेको बताए । धनगढीमा हाल २२ जना स्वीकृत दरबन्दीका गरी ६४ जना स्थायी स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

पालिकाहरूमा स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी भएका पालिकामा तलब पाउन समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्षको सुरुमै पालिकाहरूमा स्वीकृत दरबन्दी भन्दा बढी रहेका स्वास्थ्यकर्मीलाई तबल दिन नसकिने पत्र पठाएको थियो ।

स्वास्थ्य मन्त्रालयले यस्ता पालिकाहरूलाई समायोजन/समायोजन मिलान/कामकाज गर्ने भनी आएका कर्मचारीहरूलाई नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने र आफैले आवश्यकता हेरी व्यवस्था गर्न भनेको थियो । हाल पालिकाले पनि तलब नदिने र संंघ सरकारबाट पनि बजेट नआउँदा स्वास्थ्य शाखामा कार्यरत स्थायी दरबन्दीकै स्वास्थ्यकर्मी तलब विहीन बन्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.