कैलालीका अन्य क्षेत्रहरुको तुलनामा गोदावरी नगरपालिका क्षेत्र केही उचाईमा छ । विगतलाई हेर्ने हो भने यहाँका केही भागहरुमा सामान्य पानी जम्ने बाहेक डुबानकै समस्या भने कम हुने गरेका थिए । तर पछिल्लो केही समय यता नगरको मुख्य बजार अत्तरिया सहित आसपासका क्षेत्रहरुमा पनि वर्षाको समयमा पानी भरिन थालेको छ ।

शहरिकरणका कारण अत्तरियामा डुबानै नहुने क्षेत्र पनि डुब्न थालेका छन् । डुबानै नहुने ठाउँको रूपमा चिनिने अत्तरियामा पछिल्ला वर्षहरूमा थोरै वर्षा हुँदा पनि डुबान हुन थालेको हो । पछिल्लो समय अत्तरिया चोक देखि भित्री बस्ती सबैतिर डुबान हुने गरेको छ । अव्यवस्थित रूपमा सहरीकरण भइरहेको अत्तरियामा एकातिर प्राकृतिक खोला, नाला अतिक्रमण हुनु र अर्कोतिर उचित ढल निकास हुने गरी सडक निर्माण नहुँदा डुबानको समस्या वर्षेनी बढ्दै गइरहेको छ ।

अत्तरिया बजार क्षेत्रको वर्षातको पानी निकास हुने अधिकांश खोला नालाहरू अहिले अतिक्रमणको चपेटामा परेका छन् भने कतै खोलानालाको नामोनिसान मेटिएको छ । बजार भएर बग्ने र वरपर रहेको खोलानालाहरु नै मिचेर भवन बनाईदा यहाँ डुबानको जोखिम अझ उच्च बनेको छ । यी बजारको केन्द्रमा रहेका खोला नाला मात्रै नभएर छेउछाउका खोला पनि अहिले अतिक्रमणको चपेटामा छन् ।

अत्तरिया चोक देखि करिब ६ सय मिटर पश्चिममा रहेको कल्भर्ट भएर बग्ने खोला पनि अहिले नालामा परिणत हुने अवस्थामा पुगेको छ । खोलामै पिल्लर हालेर घर ठडिँदा खोला साघुरो बन्न थालेको छ । त्यस्तै अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र बाहिनी छेउको खोला पनि घरै घरले भरिन थालेको छ ।
दिन प्रतिदिन खोलाहरूमा अतिक्रमण बढिरहेको भए पनि यसलाई रोक्न भने सरोकारवाला निकाय स्थानीय तहले चासो देखाएको छैन । गोदावरी नगरपालिकाले पहिलो पटक २०७९ असोज १२ गते खोलानालाको अतिक्रमण गरी बनाएका संरचना हटाउन ९० दिने सूचना निकालेको थियो ।
सूचनामा ९० दिन भित्र संरचना नहटाए नगरले हटाउने उल्लेख थियो । तर, सूचनाको म्याद सकिएपछि पुस १३ गते पुनः ३० दिने सूचना जारी भए पनि त्यसपछि नगरपालिका मौन छ । खोलानाला अतिक्रमण गर्नेहरुमा बढी जसो स्थानिय नेता तथा व्यापारीहरु छन । त्यसैले पनि अतिक्रमण हटाउन जनप्रतिनिधिहरुले खुट्टा कमाउने गरेका छन ।
तर कुनै नेता तथा व्यापारीको डरका कारण नगरबासीहरुलाई नै समस्यामा पार्ने कार्य उचित होईन । जनप्रतिनिधि जनताको हितका लागि हो, न की कुनै व्यक्ति विशेषको फाईदा पु¥याउनका लागि । जनप्रतिनिधिले कसैको व्यक्ति विशेषको मुख हेर्ने काम बन्द गरेर जनताका हितका लागि काम गर्नुपर्दछ । तसर्थ जनतालाई डुबानको जोखिमबाट मुक्त गर्न खोलानाला अतिक्रमणहरु हटाउन जरुरी छ ।