अत्तरिया – कैलालीको ओलानी क्षेत्रका हजारौँ मानिसको कालोपत्रे सडकमा हिँड्ने सपना ठेकेदारका कारण अधुरै रहेको छ । २०७८ सालमै सक्नुपर्ने काम निर्माण कम्पनी एड्भेन्चर, थेगिम, सन्लाईट जेभिको चरम लापरबाहीका कारण अझै सम्पन्न हुन सकेको छैन ।

चौकीडाँडा फल्टुडे सडक अन्तरगत अढाई किलोमिटर सडक कालोपत्रे गर्न भौतिक पूर्वाधार विकास कार्यालय धनगढी सँग उक्त कम्पनी सँग २०७७ भदौ १८ गते सम्झौता गरेको थियो । सुरुको सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिसक्नु पर्नेमा हालसम्म पनि म्याद थप्दै सडक लथालिङ्ग पार्ने काम भएको छ ।

सडक निर्माणमा ठेकेदारले बेवास्ता गरेको भए पनि पूर्वाधार विकास कार्यालयले भने न अहिले सम्म ठेक्का सम्झौता तोडेको छ न कारबाही नै गरेको छ । सडक निर्माणमा बेवास्ता गरेको ठेकेदारलाई गत असोजमा रोकिएको काम सुरु गर्ने ताकेका गरिएको थियो । ताकेता गर्दा पनि काम नगरे कारबाही गर्ने भनिए पनि अझै ठेकेदारले उन्मुक्ति पाइरहेका छन् ।

सडक निर्माणमा ढिलाइ गरेको भन्दै ठेकेदारलाई कारबाही गर्नुपर्ने भन्दै ओलानी क्षेत्रका वडा नम्बर १०, ११ र १० का वडाध्यक्षहरूले नै पटक पटक ठेकेदारलाई कारबाहीको माग गर्दै आएका छन् । तर, ठेकेदारलाई कारबाही गर्न पूर्वाधार विकास कार्यालयले खुट्टा कमाउँदै आएको छ ।
योजना कार्यान्वयन गर्नुपर्ने कार्यालयले ठेकेदारलाई संरक्षण गरेपछि हाल तिनै वडाका वडाध्यक्षहरू जिल्ला प्रशासन कार्यालय पुगेका छन् । वडा अध्यक्ष भीम बहादुर खड्का, प्रेम सिंह बडैला र रवीन्द्र शाहीले प्रशासनमा पेस गरेको उजुरीमा चौकीडाँडा फल्टुडे सडक अन्तरगत थेगिमले ठेक्कामा लिएको मालाखेती खमौरा खण्डको काममा ठेकेदारले लापरबाही गरेको भन्दै कारबाहीको माग गरिएको छ । पत्रमा ठेकेदारले कालोपत्रे गर्नुपर्ने सडकमा जताततै निर्माण सामग्री अलपत्र छोड्दा आवतजावतमा पनि कठिनाइ भएको उल्लेख छ ।
वडा अध्यक्षहरूले खमौरा देखि गौडी सडक खण्डमा नाला सहित कालोपत्रे गर्नुपर्नेमा हालसम्म नाला निर्माणकै काम नसकिएकोले दुवै कम्पनीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।
खमौरा देखि बान्द्रेखाल सम्म ३ किलोमिटर सडक कालोपत्रेका लागि भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले तेडी निर्माण सेवा सँग २०७९ चैत्र १८ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार १८ महिना भित्र काम सकिनु पर्ने भए पनि वडाअध्यक्षहरुले तेडीले पनि सडकमा निर्माण सामग्री राखेर सडक अलपत्र पारेको भन्दै कारवाहीको माग गरेका छन् ।
भौतिक पूर्वाधार विकास कार्यालय धनगढी प्रमुख राम चन्द्र खत्रीले भने सार्वजनिक खरिद नियमावली परिवर्तन भएर आउने भएकाले बाध्यताले थेगिमको म्याद थप गर्नु परिरहेको बताए । उनका अनुसार हाल सम्म थेगिमको चार पटक म्याद थपिसकिएको छ । उनले हाल थप गरिएको म्याद बाँकी भए पनि काम भने ४० प्रतिशत मात्रै भएको बताए ।

थेगिम र तेडीको काम सम्पन्न भएमा पूर्वपश्चिम राजमार्ग देखि ओलानी सम्म कालोपत्रे सडक जोडिने भए पनि कामै नगर्ने ठेकेदार फेला परेको भन्दै स्थानीय निराश छन् । वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले भौतिक पूर्वाधार विकास कार्यालय २/३ पटक ठेकेदारलाई बसाएर काम गर्ने प्रतिबद्धता गराउन लगाउँदा पनि काम अगाडि नबढेपछि कारवाहीको लागि प्रशासन कार्यालयमा पुगेको बताए । उनले ठेकेदार २/३ दिन काम गरेजस्तो गर्ने र फेरी बेपत्ता हुने गरेकाले अब कारबाही नै अन्तिम विकल्प भएको बताए । काममा चरम लापरबाही गर्दा पनि ठेकेदार कारवाहीमा नपर्नु आयोजना निर्माण गर्ने कार्यालयकै कमजोरी रहेको उनको भनाइ छ ।
चौकीडाँडा फल्टुडे सडकको बान्द्रेखाल देखि अगाडी १ किलोमिटर सडक भने सङ्घीय सरकार मातहतका कार्यालय मार्फत कालोपत्रे गर्ने काम भइरहेको छ । उक्त काम भने सन्तोषजनक रहेको वडा अध्यक्ष खड्काले बताएका छन् ।
सम्बन्धीत समाचार
चौकिडाँडा फल्टुडे सडकको काम सुस्त, गाँजाका बोट उम्रिँदै
चौकीडाँडा फल्टुडे सडक : मापदण्ड विपरित काम गरिएको आरोप
चौकीडाँडा फल्टुडे सडक लथालिङ्ग
चौकीडाँडा–फल्टुडे सडकमा काम सुरु गर्न ठेकेदारलाई ताकेता
चौकीडाँडा–फल्टुडे सडकका ठेकेदारले फेरी झुक्याए
३ वर्षमा नबनेको अढाइ किलोमिटर सडकका लागि पुनः १ वर्ष म्याद थप