चौकीडाँडा फल्टुडे सडक : मापदण्ड विपरित काम गरिएको आरोप

अत्तरिया – कैलालीको चोकीडाँडा फल्टुडे सडकमा मापदण्ड विपरित काम गरिएको आरोप लागेको छ । गोदावरी नगरपालिका – १० को कार्यालय देखि बान्द्रेखाल सम्म सडक कालोपत्रेको जिम्मेवारी पाएको तेडी निर्माण सेवाले मापदण्ड विपरित काम गरेको आरोप लागेको हो । सडकमा निर्माण कम्पनीले तोकिएको भन्दा फरक सिमेन्ट प्रयोग गरेको, स्टमेट अनुसार सिमेन्ट मसला नबनाएको आरोप लागेको हो । उक्त निर्माण कम्पनीले हाल नाली निर्माणको काम गरिरहेको छ । मापदण्ड अनुसार काम नगरिँदा नालीको गुणस्तर कमजोर हुने भन्दै स्थानीले विरोध जनाएका छन ।

maya metro hospital

स्थानीय रमेश ताम्राकारले निकै सुस्त गतिमा भएरहेको काममा पनि मापदण्ड अनुसार नगरिँदा आफूहरुले विरोध गरेको बताए । उनले ओपीसी सिमेन्ट प्रयोग गर्नु पर्नेमा पीपीसी सिमेन्ट प्रयोग गरिएकाले काम रोक्न लगाएको बताए । उनले गलत काम रोकेर नालीको गुणस्तर जाँच गरिनुपर्ने बताए ।

joshi vada pasal 2

वडा नम्बर १० का वडाध्यक्ष रबीन्द्र शाहीले नालीको काम सुरु भएदेखि नै ठेकेदारले वदमासी गरिरहेको बताए । उनले मापदण्ड अनुसार सिमेन्ट र बालुवा नमिसाएको, ओपीसी, पीपीसी दुवै सिमेन्ट मिसाएर प्रयोग गरिएको बताए ।
‘दुई किसिमका सिमेन्ट किन मिसाएको भन्दा सिमेन्ट सकिएर हो भने । पछि बालुवा एक बाकेट हाल्नुपर्नेमा डेढ हाले । गिट्टी पनि २ बाकेट हाल्नुपर्नेमा ढाई, तिन बकेट हाले’ उनले भने ‘म यो क्षेत्रको जनप्रतिनिधि हो । मेरै अगाडि यस्तो बदमासी गरिन्छ भने बाँकी समय के के गरे ।’ उनले पटकपटक त्यस्तै गरेको देखेपछि यसै अवस्थाका काम अगाडि बढ्न नदिने बताए । उनले मापदण्ड विपरीतको कामलाई परिक्षण गरेर भत्काउनुपर्ने बताए ।

तेडी निर्माण सेवाका साइड इन्चार्ज सुरेश चौधरीले सिमेन्ट किन्ने ठाउँमा ओपीसी सिमेन्ट नपाइएकाले डेढ सय बोरा पीपीसी सिमेन्ट ल्याएको स्वीकार गरे । उनले हालसम्म ५० बोरा पीपीसी सिमेन्ट प्रयोग गरिसकेको बताए । यसअघि भने ओपीसी सिमेन्ट नै प्रयोग गरेर नाली निर्माण गरेको उनको भनाइ छ । निर्माण कम्पनीका सञ्चालक दिल बहादुर ओलीले भने सिमेन्ट जुनसुकै प्रयोग गरेपनि फरक नपर्ने दावी गरे । उनले ल्याब टेस्ट भएर पास भएमा जुन सिमेन्ट प्रयोग गरेपनि फरक नपर्ने बताए । उनले हालसम्म साढे ४ सय बोरा ओपीसी सिमेन्ट प्रयोग गरेपनि पछिल्लो डेढ सय बोरा ड्राइभरको त्रुटीका कारण ढुवानी भएको बताए । उनले अब पीपीसी सिमेन्ट प्रयोग नगरी फिर्ता पठाउने बताए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले वडा नम्बर १० को कार्यालय देखि बान्द्रेखाल सम्म ३ किलोमिटर कालोपत्रे गर्न तेडी निर्माण सेवा सँग ठेक्का सम्झौता गरेको छ । उक्त सडक निर्माणका लागि तेडी निर्माण सेवा सँग ५ करोड ७६ लाख भ्याट बाहेक २०७९ चैत्र १८ गते सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । भौतिक पूर्वाधार विकास कार्यालयका सुपरभाइजर पल्लब राज अवस्थीले निर्माण कम्पनीले दुई किसिमको सिमेन्ट प्रयोग गरेको पुष्टि गरे । उनले एकैपटक २ किसिमको सिमेन्ट मिसाएर प्रयोग गरेको पाइएकाले काम रोकेको बताए । उनले पीपीसी सिमेन्ट प्रयोग गर्न नपाइने बताए । उनले भने ‘नम्स भन्दा फरक काम गरिएको पाइएकाले मैले कार्यालयमा जानकारी गराएको छु । अब अफिसको निर्देशन अनुसार कारवाही हुन्छ ।’

नाली थप गर्न माग

गोदावरी नगरपालिका – १० को कार्यालय देखि बान्द्रेखाल सम्मको ३ किलोमिटर सडकमा ११ सय मिटर मात्रै नाली राखिएकाले थप गर्नुपर्ने माग गरिएको छ । विना नाली सडक बनाउँदा वर्षातको समयमा डुबान हुने भएकाले स्थानीयले पुरै सडकमा नाला निर्माण गरिनुपर्ने माग गरेका हुन । थप नाला निर्माणका लागि वडा कार्यालयबाट सिफारिस गरेर पूर्वाधार विकास कार्यालयमा पत्राचार गरिएको छ । स्थानीय रमेश ताम्राकारले नाला विना सडक बनाउँदा डुबानको समस्या हुने भएकाले थप बजेट विनियोजन गरेर नाला निर्माण गरिनुपर्ने बताए ।

प्रदेश गौरवको चौकीडाँडा फल्टुडे सडक निर्माणको काम २०७७ देखि सुरु भएको थियो । तर, हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन । सुरुको खण्डमा २२ सय मिटर सडकको काम कालिका कन्स्ट्रक्सनले गरिरहेको भएपनि हाल सडकमा भरानको काम मात्रै गरिएको छ । दोस्रो खण्डको अढाई किलोमिटर सडक कालोपत्रेको जिम्मा पाएको एडभेन्चर, थेगिङ, सनलाइट जेभी भने लामो समय देखि काम नगरी सडक अलपत्र पारेको छ ।

तेस्रो खण्डको सडक निर्माणको काम गरिरहेको तेडी निर्माण सेवा पनि हालसम्म ४० प्रतिशत मात्रै काम सकेको छ । संघीय सरकार मातहत चौथो खण्डको ८ सय मिटर सडक कालोपत्रे गर्ने काम भने सन्तोषजनक रहेको स्थानीयले बताएका छन । उक्त सडक बान्द्रेखाल देखि गौडी सम्म निर्माण भइरहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.