कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीबाट ११ ग्राम खैरो हेरोइनजस्तो देखिने अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा लागूऔषधको कारोबार भइरहेको जानकारी पाएपछि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट भासीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो भीमदत्त–४ भासीस्थित राजेश थापामगरको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा ११ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित भीमदत्त नगरपालिका–११ घर भई हाल भासीमा कोठा गरी बस्ने ३३ वर्षीय राजेश थापामगर र शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी बस्ने ५३ वर्षीया सुनिया चौधरीलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

















