अत्तरिया – कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का पाएका ठेकेदारलाई काम सुरु गर्न ताकेता गरिएको छ । ठेकेदारले काम गर्र्ने भनिएको समयमा काम सुरु नभएपछि उनीहरुलाई मिति नै तोकेर ताकेता गरिएको हो । आइतबार भौतिक पूर्वाधार विकास कार्यालय धनगढीमा भएको त्रिपक्षीय छलफलपछि एडभेन्चर, थेगिङ, सनलाइट जेभिलाई असोज २४ गते र तेडी निर्माण सेवालाई असोज २० गते देखि काम सुरु गर्न ताकेता गरिएको छ ।

दुवै निर्माण कम्पनीले यसअघि असोज १ गते देखि काम सुरु गर्ने प्रतिवद्धता गरेपनि असोज १४ गते सम्म पनि काम सुरु नभएपछि सडक क्षेत्रका वडाध्यक्षहरूले पहलमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले निर्माण कम्पनीले प्रतिवद्धता गरेअनुसारको समयमा काम सुरु नगरेपछि भौतिक पूर्वाधार विकास कार्यालय धनगढी संग समन्वय गरेर छलफल कार्यक्रम आयोजना गरिएको बताए ।

उनले निर्णय भएअनुसार ठेकेदारले तोकिएको मितिमा काम सुरु नगरे कारवाही गर्ने निर्णय भएको बताए । ‘छलफलमा ठेकेदारहरूले केही आर्थिक समस्याका कारण काम सुरु नभएकाले अब तोकिएकै मितिका काम सुरु गर्ने प्रतिवद्धता जनाएका छन’ उनले भने ‘हामीले ठेकेदारलाई चाहिने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छौ । तर, वहाँहरूले काम मात्रै सुरु गरिदिनुपर्यो ।’
छलफल कार्यक्रममा थेगिङ र तेडी निर्माण सेवा कम्पनीका ठेकेदार र प्रतिनिधि, भौतिक पूर्वाधार कार्यालयका प्रमुख राम चन्द्र खत्री, वडा अध्यक्ष भीम बहादुर खड्का सँगै, वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिह बडौला, वडा नम्बर १० का वडाध्यक्ष रबिन्द्र शाही (गुड्डु), वडा नम्बर ३ का वडाध्यक्ष तेज बहादुर खड्का, चौकीडाँडा फल्टुडे सडक संघर्ष समितिका संयोजक रमेश ताम्राकार लगायतको सहभागिता रहेको थियो ।
संघर्ष समितिका संयोजक ताम्राकारले अझै पनि तोकिएको समयमा सडक निर्माणको काम सुरु नगरिए सरोकारवाला निकाय विरुद्ध प्रदर्शन गरिने बताए । उनले ३ बर्ष देखि निर्माण सुरु गरिएको सडक पटक–पटक आग्रह गर्दा पनि निर्माण सम्पन्न नभएपछि अन्तिम पटक निर्णय नै गरेर ताकेता गरिएको बताए ।
चौकीडाँडा फल्टुडे सडक अन्तरगत नहर देखि वडा नम्बर १० कार्यालय सम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्न थेगिङ संगै २०७७ भदौ १८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार १८ महिना भित्र काम सकिनु पर्ने भएपनि ३ वर्ष बितिसक्दा पनि हालसम्म ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ । हाल उक्त सडक निर्माणको लागि तेस्रो पटक म्याद थप गरिएको छ ।
वडा नम्बर १० कार्यालय देखि ३ किलोमिटर थप कालोपत्रे गर्न भौतिक पूर्वाधार विकास कार्यालय धनगढी नै २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग ठेक्का सम्झौता गरेको थियो । तर, उक्त कम्पनीले पनि हालसम्म काम सुरु गरेको छैन ।
चौकीडाँडा फल्टुडे सडकको जिरो पोइन्ट देखि नहर सम्मको करिब २ किलोमिटर सडक कालोपत्रेका लागि कालिका कन्स्ट्रक्सनले काम गरिरहेको छ । क्षेत्रीय सहरी विकास आयोजना धनगढी मार्फत २०७७ मै ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको कामले पनि हालसम्म पूर्णता पाउन सकेको छैन ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय र क्षेत्रीय सहरी विकास आयोजना धनगढी मार्फत संचालित योजनाका काम सम्पन्न नहुँदै हाल उक्त सडकमा संघिय सरकारको सडक डिभिजन कार्यालय महेन्द्रनगरले पनि थप सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
गोदावरीका वडा नम्बर ३, १०, ११ र १२ जोड्ने मुख्य सडकका रुपमा लिइने चौकीडाँडा फल्टुडे सडक लामो समय देखि कालोपत्रे गर्नका लागि प्रक्रिया अगाडि बढे पनि काम सम्पन्न हुन सकेको छैन । जसका कारण हाल सो क्षेत्रका बासिन्दाले हिलाम्मे र धुलाम्मे सडकबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।