खाेज्नुहाेस

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Image

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

बुधवार संसदीय समितिको बैठकमा ग्यास उद्योगीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि मन्त्री यादव आलोचनामा परेकी थिइन्। उनले ग्यास अभाव उद्योगीहरूकै कारण भएको दावी गर्दै समस्या समाधानका लागि उनीहरूमाथि कडाइ गर्नुपर्ने बताएकी थिइन्।

attariya hospital
navjiwan hospital

यादवले नेपालमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र दुईवटा उद्योग मात्र पर्याप्त हुने धारणा समेत राखेकी थिइन्। उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। त्यसपछि सरकार र उद्योगीबीचको विवाद थप चर्किएको थियो।

काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। उपभोक्ताहरू घण्टौं लाइनमा बस्दा समेत ग्यास नपाउने अवस्था रहेको छ भने कतिपयले तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नुपरेको गुनासो गरेका छन्।

१४ भदौदेखि कृष्णभीरमा सडक भासिएपछि ग्यास ढुवानीमा समेत समस्या भएको बताइएको छ। वैकल्पिक मार्गबाट ग्यास ल्याइए पनि बजारमा सहज आपूर्ति हुन नसक्दा अभाव थप जटिल बनेको हो।