खाेज्नुहाेस

हिलाम्मे सडक मर्मत गर

Image

वर्षाको समय सुरु हुनै लाग्दा गोदावरीमा सडक कालोपत्रेका लागि भत्काईएका विभिन्न सडकहरु अहिले हिलाम्मे बनेका छन । एक दिन मात्रै परेको पानीले कैलालीको गोदावरी नगरपालिकामा रहेका निर्माणको ठेक्का भैसकेका सडकहरु हिलाम्मे बन्दा स्थानियहरुले सास्ती खेप्नुप¥यो । ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न भैसक्नुपर्ने सडकहरु हालसम्म सुरु समेत भएका छैनन् । नगरपालिकाको वडा नं. २ आदर्श गल्लीको सडक ठेकेदारले कालोपत्रे गर्ने भन्दै करिब १ महिना अघि भत्काएको थियो । उक्त सडक निर्माणको जिम्मा लिएको कुमार शिशिर कन्स्ट्रक्सनले सडक भत्काएर बनाउन तिर ध्यान नदिएका कारण उक्त क्षेत्रका स्थानियहरुले सास्ती खेप्नुपरिरहेको छ ।

navjiwan hospital

गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर भित्रका ३६ वटा सडक कालोपत्रे गर्ने क्रममा छनोटमा परेको यो गल्लीमा ठेकेदारले एक महिना अघि नै कालोपत्रे गर्ने भन्दै पुरानो कालोपत्रे पनि जेसिबी लगाएका उप्काएका थिए । सडकको कालोपत्रे उप्काएर ठेकेदार बेपत्ता भएपछि अहिले स्थानीयले सास्ती खेप्नु परेको छ । थोरै पानी पर्दा पनि सडक हिलाम्मे हुन थालेको छ । सडक हिलाम्मे बन्दा पानी परेको समयमा त्यो सडकमा सहड्न सकिने अवस्था थिएन । शनिबार एक दिन मात्रै पानी परेको समयमा पनि हिलाम्मे सडकले सताउदा सडकको अवस्था यथावत रहदा वर्षाको मौषममा आगामी दिनमा झन हालत के हुन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

attariya hospital

अत्तरिया आसपासका क्षेत्रमा लामो समयको खडेरी पश्चात् शनिवार वर्षा भएको थियो । एक दिन मात्रै परेको वर्षाले आदर्श गल्लीको अवस्था नाजुक बनाउँदा वर्खे भेलमा झन अवस्था विग्रिने निश्चित नै छ । त्यसैले वर्षाको लामो भेल सुरु हुनु अघि नै भत्काईएका सडकहरु मर्मत गर्न आवश्यक छ । त्यसका लागि नगरपालिकाले पनि पहलकदमी गर्नुपर्दछ । नगरले नगरबासीहरुको सुविधाका लागि निर्माण गर्न लागिरहेको सडक ठेकेदारको लापरबाहीका कारण बन्न सकिरहेको छैन भने त्यस्तो अवस्थामा नगरपालिकाले तत्काल निर्माणको काम गर्न निर्देशन दिने र कारबाही गर्ने कुरामा विचार पु¥याउनुपर्दछ ।

यसरी नगरको बजेटको दुरुपयोग गरी बनाउनुपर्ने भौतिक पुर्वाधार समयमै नबनाउने ठेकेदार कम्पनिहरुलाई नियममा राख्न र कानुनको पालना गर्न सिकाउन पनि कारबाही जरुरी हुन्छ । हालसम्म निर्माण भैसक्नुपर्ने सडकहरु नबन्दा पनि नगरपालिका मौन बस्न मिल्दैन । आफ्नो बजेट अनुरुपको काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्ने या त्यसको धरौटी जफत गरेर अर्काे काम गर्ने ठेकेदारलाई निर्माणको जिम्मा दिईनुपर्दछ । निर्माणका लागि भत्काईएका सडकहरु मर्मतमा ठेकेदारलाई दवाव दिन आवश्यक छ ।