स्ट्रिट लाईट जडानको काममा लापरबाही नगर

मोहना अत्तरिया ६ लेन सडक अन्र्तगत कैलालीको धनगढी उपमहानगरपालिकाले स्ट्रिट लाईट जडान गरिसकेको छ । धनगढीले आफ्नो क्षेत्रभित्र रहेको स्थानसम्म लाईट जडान गर्दा धनगढी क्षेत्र झिलमिल हुँदा गोदावरी नगरक्षेत्र भने अन्धकार बन्ने गरेको छ । सोही कारण गोदावरी नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेको स्थानसम्म स्ट्रिट लाईट जडान गर्ने भन्दै नेपाल विद्यूत प्राधिरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडकबत्ति प्रर्वद्धन आयोजना काठमाण्डौसँग सम्झौता गरेको छ ।

maya metro hospital

सम्झौता अनुसार नगरपालिकाले आफुले भुक्तानी गर्नुपर्ने रकमको पहिलो किस्ता वाफत ९८ लाख २८ हजार २०० रुपैया भुक्तानी गरिसकेको छ । नगरपालिकाले गत वर्ष असार २१ गते स्ट्रिट लाईट जडानका लागि भुक्तानी गरेको भएपनि हालसम्म पनि स्ट्रिट लाईट जडानको काम हुन सकेको छैन । नगरले विद्यूत प्राधिकरणलाई पहिलो किस्ता वाफत रकम भुक्तान गरेको एक वर्ष पुग्नै लाग्दा सम्म पनि लाईट जडानको काम नहुँदा विद्युत प्राधिकरणकै लापरबाही भएको गुनासो आउन थालेको छ ।

नगरपालिकाले स्ट्रिट लाईट जडानका लागि आयोजनासँग लागत साझेदारी गरेको छ । जसअनुसार स्ट्रिट लाईट जडानको कुल लागतको ६५ प्रतिशत रकम नगरले बेहोर्ने छ भने ३५ प्रतिशत रकम विद्युतले बेहोर्नेछ । नगरले बेहोर्नपर्ने रकमको करिब ५० प्रतिशत रकम विद्युतलाई पठाईसकेको भएपनि जडानको प्रकृया समेत सुरु नहुँदा नागरिक समस्यामा परेका छन ।

attariya hospital

राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजना काठमाण्डौले विद्युत जडानका लागि आवश्यक प्रकृयाहरू पुरा गरिरहेको बताउदै आएको भएपनि काममा भने ढिलाई भएको छ । भुक्तानी भएको एकवर्ष वित्नै लाग्दा सम्म पनि टेण्डर प्रकृया सकिएको छैन । विद्युत प्राधिकरणले आगामी आर्थिक वर्षदेखी जडानको काम हुने बताएको छ । एक वर्ष अघि नै भुक्तानी भैसक्दा पनि एक वर्ष पछि काम सुरु हुने भन्नु विद्युत प्राधिकरणको लागि पनि उचित हैन । निर्माणको जिम्मेवारी लिएपछि उपभोक्ताहरुलाई समयमै निर्माण गरेर दिने सरकारी कार्यालय भएकाले विद्युतको पनि दायित्व हुन्छ । सरकारी कार्यालयकै काम सरकारी कार्यालय ले नै ढिलाई गरेर उल्टो सरकारी कार्यालयको बारेमा जनमानसमा नकारात्मक भावना पैदा गराउन खोज्नु जायज हैन । आयोजनाले पटक पटक विभिन्न बाहानाहरु बनाउदै लाईट जडानको प्रकृयालाई अल्झाउने काम गरिरहेको छ ।

प्राधिकरणले आयोजना अन्र्तगत देशका २२ वटा पालिकाहरूको एकमुष्ट टेन्डर आह्वान गरेको छ । यसअघि केही पालिकाहरूले रकम पठाउनमा ढिलाई गरेका कारण टेन्डरमा जान ढिला भएको बताउदै आएको थियो । तर पछिल्लो समय विभिन्न ठेक्का प्रकृयाहरुका कारण ढिलाई भएको विद्युतले जनाएको छ । अहिले भने विद्यूत प्राधिकरणले ठेक्का प्रकृयाको कार्य लगभग अन्तिम चरणमा पुगिसकेको बताएको छ । तर आर्थिक मुल्यांकनका लागि ठेक्का आह्वान गर्न अझै बाकी रहेको पनि बुझ्नमा आएको छ । स्ट्रिट लाईट जडानका लागि धेरै समय खर्च भैसकेको छ । अब विद्युत प्राधिकरणले यसमा ढिलाई गर्नुहुदैन ।

नगरपालिकाको फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपी फ्लोर मिलदेखि अत्तरिया चौराहा सम्मको ५.७ किलोमिटर ६ लेन सडकमा स्ट्रिट लाइट जडान गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण अन्तर्गत राष्ट्रिय सडक बत्ती प्रर्वद्धन आयोजनासँग समन्वय गरी ३ करोड २ लाख ४० हजार ६८३ रुपैयाँ अनुमानित लागतमा ६ लेन सडकमा स्ट्रिट लाइट जडानका लागि सम्झौता गरेको छ । पछिल्लो समय छाडा पशुचौपायाको संख्या बढी हुनु र सडक बत्ती नहुनाले दुर्घटनाका घटनाहरू बढ्दै गइरहेका छन । सडकमा आधुनिक बत्ती जडानले दुर्घटनाको जोखिम घटाउनुका साथै सहरको सुन्दरता समेत बढ्ने हुँदा त्यसको कार्य यथाशिघ्र हुन आवश्यक छ । त्यसैले उक्त कार्यमा ढिलाई नगरी जतिसक्दो चाँडो स्ट्रिट लाईट जडानको प्रकृया सुरु गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.